राजनीति भिडियो

पैसावाल सुनिल शर्मालाई जित्न मेरो इमानको राजनीति नै काफी छ (भिडियोसहित)

पैसावाल सुनिल शर्मालाई जित्न मेरो इमानको राजनीति नै काफी छ  (भिडियोसहित)

भानुभक्त ढकाल अर्थात् मोरङ–३ का तर्फबाट बाम गठबन्धनका उम्मेदवार । नेकपा एमालेका पूर्व समानुपातिक सांसद ढकाललाई अहिले बाम गठबन्धनका तर्फबाट एमालेले मोरङ–३ बाट प्रत्यक्षतर्फबाट उम्मेदवार बनाएको छ ।

निष्ठा र इमानको राजनीतिमा दृढ ढकाललाई एमाले पंक्तिमा राम्रो भविष्य बोकेको नेताका रुपमा पनि लिने गरिन्छ । त्यसो त उनी यसभन्दा अघि एमालेका प्रमुख सचेतक पनि हुन् । प्रमुख सचेतकका रुपमा व्यवस्थापिका संसद्मा उनले खेलेको भूमिकाको पनि मुक्तकण्ठले प्रशंसा गर्ने गरिन्छ ।

पहिलो संविधानसभामा एमालेको उपस्थिति अत्यन्तै न्युन भएका कारण संविधान बन्न नसकेको मान्यता राख्ने ढकाल दोस्रो संविधानसमामा एमालेको उपस्थिति बढेसँगै संविधान बन्न सकेको दाबीसमेत गर्छन् । यो मुलुकको विकास, स्थिरता र सफलताका लागि बाम गठबन्धनको जित अनिवार्य भएको मान्यता राख्ने ढकाल निर्वाचनपछि बामगठबन्धनको सरकारले बन्ने र सो सरकारले मुलुकमा धेरै काम गर्नेसमेत बताउँछन् ।

‘बाम गठबन्धनको दुई तिहाई मत आयो भने हामी संविधान संशोधन गरेर बढीभन्दा बढी काम गर्ने छौं, बहुमत आयो भने पनि हामी धेरै काम गर्ने छौं, के के काम गर्छाैं गर्न सक्छौं भन्ने कुरा हामीले चुनावी घोषणापत्रमा उल्लेख गरेका छौं,’ ढकालको भनाइ छ ।

त्यसो त उनी उठेको निर्वाचन क्षेत्रमा अपवाद बाहेक एमालेले नै जित्दै आएको छ । उनी उठेको यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा कांग्रेसले पाएको मतभन्दा बाम गठबन्धनको मत २१ हजार भन्दा बढी छ । त्यसैले पनि उनको जित सुनिश्चित झैं छ ।

आफू विजयी भएपछि पूर्वाञ्चल विश्वविद्यालयलाई पुनर्जीवित गर्ने, पेट्रोल खानी पुष्टि भए उत्खनन गरी प्रशोधनपछि प्रयोगमा ल्याउने, धार्मिक स्थललाई चिनाउने, पर्यटक प्रवद्र्धन, कृषिको आधुनिकीकरणसहित समग्र विकासलाई प्राथमिकता दिने उनको योजना छ ।

उनी उठेको क्षेत्रमा कांग्रेसले विवादास्पद व्यक्ति सुनिल शर्मालाई उठाएको छ । दल चहार्ने र स्वार्थको राजनीति गर्ने प्रवृत्तिका शर्माले चुनावमा अत्याधिक खर्च गर्ने डर पनि बाम गठबन्धनमा नभएको होइन । तर कांग्रेसले विवादास्पद व्यक्ति शर्मालाई टिकट दिएकाले लामो समय कांग्रेस राजनीतिक गरेका, इमान्दार व्यक्ति उनीसँग रुष्ट भएको पनि एमालेको बुझाइ छ ।

उनी भन्छन्, ‘चुनावलाई स्वस्थ, मर्यादित बनाउन हामी प्रतिबद्ध छौं । हामी चुनावका लागि चन्दा उठाउने र अनावश्यक खर्च गर्नु हुँदैन भन्ने पक्षमा छौं । अहिले निष्ठा, सेवा, इमान जमानको राजनीति गर्नेलाई गाह्रो छ । सम्पत्तिकै कारण टिकट पाउने, सम्पत्तिकै कारण जित्ने र जितेपछि खर्च असुल गर्न लाग्ने प्रवृत्ति पनि नभएको होइन । यो अत्यन्तै गलत कुरा हो ।’

विकास र समृद्धिका लागि कम्युनिस्ट पार्टी नै चाहिने धारणा राख्ने ढकाल कम्युनिस्ट पार्टी मिल्दा धेरै काम गर्न सकिने भएकाले पनि अहिले बाम गठबन्धन बनाइएको स्पष्ट पार्छन् । ‘हामीले अहिले बाम गठबन्धन मात्र बनाएका हौं, पछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नै हुन्छ, यसका लागि एक वर्ष जति लाग्ला,’ ढकालको भनाइ छ, ‘कसैले दुई बामबीच एकता हुँदैन भन्ने लागेको छ भने त्यो दिवास्वप्न मात्रै हो ।’ उनले दुई पार्टीबीच एकता भएपछि पार्टीभित्रको गुटबन्दीको जरा आफै उखेलिने पनि बताए ।

उनले मधेसको विकास गर्न पनि बामपन्थी नै चाहिने धारणा राख्दै भने, ‘साँचो अर्थमा मधेसको विकास चाहने शक्ति बामपन्थी नै हो, २ नम्बर प्रदेशमा पनि हामी जित्छौं र बामपन्थीकै नेतृत्वमा प्रदेश सरकार पनि बनाउँछौं ।’

Bhanu Bhakta Dhakal

विशेष