राजनीति

राष्ट्रिय जनता पार्टीले उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने

राष्ट्रिय जनता पार्टीले उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने

 काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने बताएको छ ।

तराईमा अन्य राष्ट्रिय पार्टीहरुले दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको हो ।

राजपाले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’

राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ । नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ ।

यो रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने बताए । प्रदेश २ मा राजपा-फोरम गठबन्धनको सरकार बन्ने र सहिद परिवारलाई ५०-५० लाख दिइने महतोले बताए ।

घोषणापत्रमा ५० लाख दिने उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टीकाे सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले बताएका हुन् ।शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने समेत उनले बताए ।

यस्ताे खालकाे चुनावी घोषणापत्र बनेकाे याे नै पहिलाे पटक हाे ।

 

 

विशेष