अभिलेख

'माओवादीद्वारा गोर्खा –२ का कम्तिमा छ बुथ कब्जा'

'माओवादीद्वारा गोर्खा –२ का कम्तिमा छ बुथ कब्जा'

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाका लागि पहिलो चरणमा भइरहेको मतादनका क्रममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले कम्तिमा ६ वटा बुथ कब्जा गरेका छन् ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धा रहेको सो क्षेत्रमा माओवादी कार्यकर्ताले ६ वटा बुथ कब्जा गरेको नयाँ शक्तिका नेताहरुले आरोप लगाएका छन् ।

प्राप्त जानकारीअनुसार सुलिकोट गाउँपालिका अन्तर्गत पाकु माझ लाकुरीबोटमा अपरिचिति युवाहरुको समूह ल्याएर स्थानीय मतदाता तर्साउने काम माओवादीले गरिरहेको दाबी गरिएको छ ।

त्यस्तै सिरानचौकगाउँपालिकाको वडा न ५ स्थित चित्रेपखोरीमावि केन्द्रमा काठमाडौं बसपार्कमा बस्ने राज भन्ने व्यक्तिको नेतृत्वमा एक अपरिचितहरुको समूहले निर्वाचन प्रभावित पारिरहेको खबर प्राप्त भएको छ । सो समूहमा २० जना रहेको नयाँ शक्तिका कार्यकर्ताहरुले जानकारी दिएका छन् ।
पालुङटार – ८ अकला माविस्थित रातमाटा बुथमा पनि तनहुँका युवाहरुले आतंक मच्चाएको नयाँ शक्तिका जिल्ला संयाेजक रमेश पाेख्रेलको आरोप छ ।

सुुलिकोट गाउँपालिकाको वडा नम्बर ३ माझथर मावि बुथ भने कब्जा भएको दावी गरिएको छ । सो विद्यालयका प्रधानाध्यापक उत्तम बराम, शिक्षक सुकराम बिकको नेतृत्वमा मतदाताहरुको सबै कार्ड नियन्त्रणमा लिइएको छ । माओवादीका स्थानीय युवहरुले मतदातासँगै गएर मतदान गराइरहेको खबर प्राप्त भएको नयाँ शक्तिका एक जिल्ला नेताले बताए । मतादातासँगै गएर मतदान गराउने जिम्मेवारी राजन बिकले गरेका छन् ।


नयाँ शक्तिको आधिकारिक स्रोत भन्छ्, ‘अहिलेसम्म कम्तिमा ६ वटा बुथ कब्जा भएको खबर छ ।’

विशेष