राजनीति

बाँदरमुढे घटनास्थलमा प्रचण्डको पहिलो पाइला, स्मारकमा माल्यार्पण

बाँदरमुढे घटनास्थलमा प्रचण्डको पहिलो पाइला, स्मारकमा माल्यार्पण

चितवन। चुनावी प्रचार अभियान अन्तरगत माडी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे स्मारकमा माल्र्यापण गरेका छन् ।
माडीको बाँदरझुला जाने क्रममा अध्यक्ष प्रचण्डले स्मारकमा पुगी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।सोही बाटो भएर बाँदरझुला जानुपर्र्ने भएपछि प्रचण्ड पहिलो पटक गाडीबाट झरेर बाँदरमुढे घटनास्थलमा पाईला टेकेका हुन् ।

विंस२०६२ साल जेठ २३ गते बिहान यात्रुले खचाखच भरिएको बस तत्कालिन नेकपा माओवादीको विद्युतीय धरापमा पर्दा ३९ जनाले बाँदरमुढे खोलामा ज्यान गुमाएका थिए भने ७५ जना घाइते भएका थिए ।

सो घटनामा तत्कालिन नेकपा माओवादीले ठूलो भूल भएको भन्दै सार्वजनिक माफि समेत मागेको थियो । पहिलो पटक प्रधानमन्त्री भएपछि माडीमा आयोजित ‘पहिलो माडी महोत्सव’को उद्घाटनका सिलसिलामा ०६९ फागुन १७ गते प्रचण्ड माडी पुगेका थिए ।

त्यसपछि माडी पुग्न नसकेका प्रचण्ड सोही क्षेत्र समेटेर बनेको निर्वाचन क्षेत्रका उम्मेदवार बनेपछि कार्तिक १८ गते माडी पुगेका थिए । उनले त्यो बेला पीडितसँग प्रत्यक्ष भेटघाट पनि गरेनन् भने सो घटनास्थलसम्म पनि पुगेनन् ।

पीडितसँग प्रचण्डले ०६३ कार्तिक ३ गते फुलबारीमा भेटेर न्याय दिलाउँछु भनेर प्रतिवद्धता पनि जनाएका थिए । तर, हालसम्म सो घटना गराउने व्यक्तिलाई कारवाही गरिएको छैन् ।

विशेष