राजनीति भिडियो

दमननाथ र महेश बस्नेतसँग भिडेका विवेकशील साझाका बौद्धिक उम्मेदवार यिनै हुन् (भिडियोसहित)

दमननाथ र महेश बस्नेतसँग भिडेका विवेकशील साझाका बौद्धिक उम्मेदवार यिनै हुन् (भिडियोसहित)

काठमाडौं । उमेरले ३५ वर्षमात्र नाघेका शशीविक्रम कार्की पेशाले पर्यटन व्यवसायी हुन् । नेपाल कमर्स क्याम्पसबाट एमबीएस (स्नात्तकोत्तर) गरेका उनले फ्रान्समा अन्तर्राष्ट्रिय व्यवस्थापन पढेका छन् । अहिले उनी नेपालको प्रत्यक्ष राजनीतिमा संलग्न हुनकै लागि भक्तपुर क्षेत्र न. २ बाट विवेकशील साझा पार्टीबाट तराजु चिन्ह लिएर प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेद्वार बनेका छन् ।

नेतामात्रै मोटाइरहने र जनताको अवस्था दिनदिनै दयनीय बनिरहेको अवस्थामा उनी उम्मेदवार बनेका हुन् । उनी भक्तपुरको जुन क्षेत्रबाट चुनाव लडेका छन् त्यहाँबाट कांग्रेसबाट दमननाथ ढुंगाना र एमालेबाट महेश बस्नेत लडेका छन् । यस्तै, नेमकिपाबाट उम्मेदवार बनेकी अनुराधा थापा मगर पूर्व समानुपातिक सांसद हुन् ।

नाम कहलिएका यी दलका नाम कहलिएका उम्मेदवारसँग उनी चुनावमा भिडिरहेका छन् । उनले चुनावमा जित्नछन् हार्छन्, त्यो २१ मंसिरपछि मात्रै थाहा हुन्छ । तर पनि उनले आफ्नो चुनावी प्रचारलाई सशक्त बनाएका छन् ।

विवेकशील साझा पार्टीले ‘भोट काट्ने काम मात्र गर्छ, जित्दैन’ भन्ने आरोप पनि उनले नसुनेका होइनन् । यो आरोप उनलाई मन परेको रहेनछ । विशेषगरी कांग्रेस नेता प्रकाशमान सिंहले यो आरोप लगाएका हुन् । आरोपलाई खण्डन गर्दै उनले भने, ‘तपाईंको बुवाले राणा शासनविरुद्ध लड्दा के राणा शासनको भोट काट्छु भनेर उठ्नु भएको हो ? गणेशमान सिंह पञ्चायतविरुद्ध उठ्दा राजाको भोट काट्न उठ्नु भएको थियो ? त्यसैले हामीलाई कम आंकलन गरेर भोट काट्न उठेको भनेर नभन्नुस् । हाम्रो विचारलाई कसैले पनि नजरअन्दाज नगर्दा हुन्छ ।’

प्रकाशमानले उठाएको राजनीतिक सिण्डिकेटप्रति कार्की पूरै रुष्ट छन् । ‘जो सिण्डिकेटको आफै ठेकेदार छ, उसैले राजनीतिक सिण्डिकेट भयो भन्न लाज लाग्नु पर्ने हो,’ उनले भनेका छन् ।

बाम गठबन्धनबाट उम्मेदवारी दिएका महेश बस्नेतको शैक्षिक योग्यता उनको भन्दा धेरै नै कम छ । पढेलेखेको मान्छेलाई संसदमा पठाउनु पर्ने उनको तर्क छ । ‘म युवा हुँ, पढेलेखेको छु, कानुनका शब्दहरु राम्रोसँग बुझ्न र बुझाउन सक्छु र सबैभन्दा धेरै त मेरो स्वच्छ छवी छ, कसैलाई कुटेको छैन, भ्रष्टाचारमा संलग्न छैन र मैले गुण्डाहरु पनि पालेको छैन ।’

प्रचण्ड र केपी ओली मिलेर बाम गठबन्धन नभई खाम गठबन्धन बनाएको उनको बुझाइ छ । ‘उनीहरु सच्चा कम्युनिस्ट हुन्थे भने डा. गोविन्द केसी भोकभोकै बस्नु पर्दैन थियो, निजी मेडिकलहरुबाट लाभ लिने गरी कुनै पनि पार्टीमा जाँदैन थिए, तर गइइरहेका छन्,’ उनले भने ।

भक्तपुरमा करीब २५ प्रतिशत भोट ल्याएमा चुनाव जित्न सकिन्छ । आफूले २२ प्रतिशत मत ल्याउनेमा उनी ढुक्क छन् । राजनीतिक रुपमा बीपी कोइरालाको विचारलाई ब्रम्हज्ञान मान्ने उनमा भक्तपुरलाई उद्यमशिलताको नमुना केन्द्र बनाउने योजना छ । आफूले हारेपनि जितेपनि सदैव यस क्षेत्रको विकासमा खटिने उनको प्रण छ । त्यसैले उनी भन्छन्, ‘हाम्रोलाई होइन राम्रोलाई मतदान गर्नुहोस् ।’

bibekshil sajha party Sashi Bikram Karki

विशेष