राजनीति

पहिलो चरणमा हुने निर्वाचनको मतदान सुरु, सात सय २ उम्मेदवार मैदानमा

पहिलो चरणमा हुने निर्वाचनको मतदान सुरु, सात सय २ उम्मेदवार मैदानमा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु भएको छ ।

हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको हो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सदस्यका लागि मतदान हुँदै छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान हुँदैछ । प्रदेशसभातर्फ भने ३ सय २० निर्वाचन क्षेत्रमध्ये ७४ क्षेत्रमा मतदान हुँदैछ ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र प्रदेशसभामा २ सय २० सिटका लागिसमेत मतदान भइरहेको छ ।

निर्वाचनका लागि २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता सहभागी हुँदै छन् ।

आज निर्वाचन भइरहेका जिल्लाहरुमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ रहेका छन् ।

त्यसैगरी प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा पनि निर्वाचन भइरहेको छ ।

त्यस्तै प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोर्खा तथा प्रदेश नम्बर ५ का रुकुम पूर्व र रोल्पामा निर्वाचन भइरहेको छ ।

त्यसैगरी प्रद्येश नम्बर ६ का रुकुम पश्चिम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि निर्वाचन भइरहेको छ ।

प्रदेश नम्बर २ का सबै जिल्ला र बाँकी अरु जिल्लामा भने दोस्रो चरणअन्तर्गत मंसिर २१ गते निर्वाचन हुने छ ।

यसै निर्वाचनमार्फत् नयाँ संविधानले व्यवस्था गरेका शासकीय प्रबन्धलाई लागु गराउने तथा ऐतिहासिक उपलब्धिहरुलाई संस्थागत गर्ने महत्वपूर्ण बाटो खुल्नेछ ।

यही निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिले राष्ट्रिय सभा निर्माण गर्नेदेखि राष्ट्रपति÷उपराष्ट्रपतिसमेतको चयन गर्नेछ ।

पहिलो चरणमा मतदान भइरहेका क्षेत्रमा प्रतिनिधिसभाका लागि २८२ तथा प्रदेश सभाका लागि ४२० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

विशेष