राजनीति भिडियो

गगन थापा भन्छन्, स्थापितले आरोप प्रमाणित गरून्, म उम्मेद्वारी त्यागिदिन्छु (भिडियो सहित)

मञ्जु मिश्र

गगन थापा भन्छन्, स्थापितले आरोप प्रमाणित गरून्, म उम्मेद्वारी त्यागिदिन्छु (भिडियो सहित)

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफूमाथिको आरोप पुष्टि गरेर देखाउन केशव स्थापितलाई चुनौती दिएका छन् । स्थापितले आरोप पुष्टि गरे आफूले उम्मेदवारी नै त्यागेर एमालेका उम्मेदवारलाई विजयको माला पहि-याइदिने घोषणा गरेका छन् । थापाले स्थापितलाई चुनौती दिंदै भनेका छन्– बोलिसक्नु भयो अब पुष्टि पनि गर्नुहोस् ।

केही दिनअघि एमाले नेता केशव स्थापितले नेपाल आजसँगको कुराकानीमा सरकारी अनुदानको रकम लगानी गरेर गगन थापाले खोलेको बाख्रा फारममा बाख्रा त के खोर पनि नभएको र अरूका बाख्राको फोटो खिचेर अनुदान झ्वाम पारेको आरोप लगाएका थिए ।

गगन थापा अहिले क्षेत्र नं ४ मा भोट माग्ने क्रममा मतदाताका घरदैलो अभियानमा व्यस्त छन् । उनको व्यस्तताबीच हामीले छोटो कुराकानी गरेका छौं । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुुत गरेका छौं ।

पुरा अन्तर्वार्ता हेर्न यो भिडियो हेर्न सक्नुहुने छ:

घरदैलोमा व्यस्त हुनुहुन्छ, जनताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

यसअघिका निर्वाचनमा जस्तो खालको प्रतिक्रिया पाएको थिएँ लगभग त्यस्तै पाएको छु । मानिसहरूमा निराशा र वितृष्णा एकदमै भेटेको छु । मलाई पनि पार्टीको झण्डामात्र नबोक्नुस् काम गर्नुुप-यो भन्नुहुन्छ । पुराना नेताहरूले केही गरेनन् तपाईंमा आशा छ भन्नुहुन्छ ।

केशव स्थापितले गगन थापाले सरकारी रकम हिनामिना गरेर बाख्रा पालनको नक्कली फोटो देखाएको आरोप लगाएका छन्, यसमा तपाईंको प्रतिक्रिया के छ ?

बोल्ने मान्छेले नै पुष्टि गर्नुपर्छ । यदि केशव स्थापितले लगाएको आरोप मध्येमा कुनै एउटा पनि उहाँले पुष्टि गर्नुभयो भने म अहिले नै उम्मेदवारी छोडिदिन्छु र उहाँको उम्मेदवारलाई माला नै लगाइदिन्छु । हँुदै नभएको कुरालाई सनसनी बनाइदिने ?

तपाईंको पनि भिडियो त आयो नि, तपाईंले आफैं पुष्टि गर्न खोज्नुभएकोे होइन र ?

मलाई यस विषयमा पहिलेदेखि अनुमान थियो कि निर्वाचनका बेलामा यस्तै प्रायोजित कुराहरू आउँछन् । यसअघिको निर्वाचनमा पनि यस्ता सनसनीपूर्ण समाचार आएका थिए । केही साथीहरू अलमलमा पर्ने देखेर मैले भिडियो निकालेको हुँ ।

प्याक्टले किन विज्ञप्ती निकालेको होला तपाईंको बचाउ गर्दै ?

प्याक्टले किन निकाल्यो त्यो त उसैलाई थाह होला । तैपनि, कसैले उसैको परियोजनामा प्रश्न उठाएको छ भने त आफ्नो बचाउ गरिहाल्छ नि । प्याक्टले मेरो होइन, आफ्नै बचाउ गरेको हो ।

प्रतिनिधिसभाको निर्वाचनमा तपाईंको प्रतिस्पर्धी को हो ? बाम गठबन्धन वा विवेकशील साझाकी सुबुना बस्नेत ?

मेरा लागि सबै उम्मेद्वारहरूलाई प्रतिद्वन्द्वीको रूपमा लिएको छु । आन्दोलन र लोकप्रियताका हिसाबले बाम गठबन्धनका राजन भट्राईलाई मुख्य रूपमा लिएको छु ।

गगन थापाले खोल्ने भनेको जिमखाना कस्तो परियोजना हो ?

यो जनता स्वास्थ केन्द्र हो जहाँ शहरी युवाहरूलाई लक्षित गरेर स्वास्थ्यका कुराहरूलाई संस्थागत गर्न खोलेको बहुआयमिक परियोजना हो । मिडियाले यसलाई करोडौं खर्च गरेर गगनले जिमखाना खोल्दै छ भनेर हल्ला गरे । यो परियोजना हामीले सुरु गरिसकेका छौ बुढानिलकण्ठबाट ।

तपाईं भारतीय दूतावासमा आउजाउ गरेका कुराहरूलाई लिएर भारत नजिक भएको भन्ने आरोप  लाग्छ, खण्डन गर्नुहुन्छ ?

म खण्डनमण्डन गर्दिंनँ । तपाईहरू जस्तो अनलाइनलाई चीनको दूतावासले पालेको छ भन्दा तपाईंहरू के भन्नुहुन्छ ? मैले एकजना साथीलाई यही जवाफ फर्काएको थिएँ ।

निर्वाचन खर्च कसरी मिलाइरहनु भएको छ ?

काठमाण्डौंमा सबैभन्दा खर्च कम मेरै निर्वाचन क्षेत्रमा भएको होला । हामी घरदैलो मात्र गरीरहेका छौं, यातायात वा चुनावी सभाहरु हामीले गरेकै छैनौं । दिनभरी घरदैलोमा गएपनि बेलका सबै साथीहरु आफ्नै घरमा गएर खाना खानुहुन्छ । यसले गर्दा खर्च धेरै जोगीएको छ । तर कति खर्च भो भनेर हिसाब गरेको छैन् ।

तपार्इंको निर्वाचन क्षेत्रमा कति मतदाता हुनुहुन्छ र आफ्नो निर्वाचन क्षेत्रबारे कत्तिको जानकारी राख्नु भएको छ ?

मेरो क्षेत्रमा करीब ६३ हजार मतदाताहरू हुनुहुन्छ । यहाँको बाटो, ढल, निकाश र समग्र स्थितिको अध्यन गरेको छु ।

अन्त्यमा, तपाईंको अन्तर्वार्ता हेरिरहनु भएका सबैलाई के भन्न चाहनुहुन्छ ?

मलाई अरू भन्दा पनि केशव स्थापितज्यूले लगाउनुभएको आरोपका बारेमा केही भन्नु छ । त्यस्तो हावादारी कुरा गर्ने मानिसका कुरा पत्याएर लठ्ठ पर्ने मानिसहरूलाई भन्न चाहन्छु कि तपाईंहरू कुरै नबुझी एउटा बहुलठ्ठी मानिसले बोलेको कुरा विश्वास गरिरहनु भएको छ । अरू त अरू इन्सेक संयोजक सुबोधराज प्याकुरेल समेतले कमेन्ट गरेको देख्दा आश्चर्यचकित भएको छु ।

 

Gagan Thapa Keshav Sthapit

विशेष