हिन्दुहरुको छाता संगठनले भन्यो, ‘भोट राजसंस्थावादी/लोकतान्त्रिक गठबन्धनलाई’
काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले आगामी निर्वाचनमा राजसंस्थावादी, राष्ट्रवादी तथा लोकतन्त्र पक्षधरलाई मत दिन आफ्ना शुभेच्छुकहरुसँग आग्रह गरेको छ ।
महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै गत कात्तिक २६ गते जारी भएको ध्यानाकर्षणपत्र माथि लोकतान्त्रिक गठबन्धन, राष्ट्रवादी तथा लोकतन्त्र पक्षधरसँग वृहद छलफल गरेपछि यस्तो आग्रह गरिएको जनाएको छ ।
लोकतान्त्रिक गठबन्धनका संयोजक तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग महासंघले मंसिर १० मा गरेको छलफल सकारात्मक भएको ठहर गरेको छ । महासंघद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति एवं सम्मानननीय प्रधानमन्त्री तथा लोकतान्त्रिक गठबन्धनका संयोजक शेरबहादुर देउवासँग विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका मार्गदर्शक तथा अध्यक्ष मानार्थ शाही पाश्र्ववर्ती जनरल भरतकेशर सिंह, वरिष्ठ उपाध्यक्ष संहिताशास्त्री अर्जुनप्रसाद बास्तोता तथा महासचिव अस्मिता भण्डारीसहितको प्रतिनिधि मण्डललले सम्माननीय प्रधानमन्त्रीलाई मंसिर १० गते भेट गरी यस महासंघले दिएको ध्यानाकर्षण पत्रबारे स्मरण गराउँदै सौहार्दपूर्ण वातावरणमा सकारात्मक तथा विस्तृत छलफल गर्यो ।’
विश्व हिन्दु महासंघको अवधारणालाई वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले सहानुभूतिपूर्वक विचार, विमर्श तथा छलफल भएको जारी विज्ञप्तिमा उल्लेख छ ।