एआइजी बनेका एक जना मिठाइ लिएर जाँदा आरजुले भनिन्, ‘तपाईको यो मिठाईले हाम्रो पार्टी चल्छ ? ’
काठमाडौं । केही दिनअघि हुँदै नभएको दरबन्दी थपेर एआइजी बनाएका मध्ये एकजना खुशीयाली साँट्न मिठाई लिएर प्रधानमन्त्री पत्नीसामु बालुवाटारमा प्रकट हुँदा आरजु राणाले मिठाई हातमा त लिइन् तर भारी मन पार्दै भनिन्, ‘तपाईको यो मिठाइले मात्रै हाम्रो राजनीति र पार्टी चल्छ ? ’ ती मान्छेको भनाइको आशय बुझे र भोलिपल्ट खामा हालेर २ लाख रुपैयाँ पुर्याइदिए । त्यसपछि बल्ल हँसिलो अनुहार पार्दै देशकी फर्स्ट लेडीले चिया मगाइन् । अहिले फेरि सुरक्षाका तीनवटै अंगको निम्ति ठूलो मात्रामा दरबन्दी सिर्जना गर्न अनुमति माग्दै निर्वाचन आयोगमा प्रस्ताव गरिएको छ ।
यसबारे फिल्ड र संरचनाको सर्भे गरिएको छैन । पद बढाउँदा कति व्ययभार बढ्छ भन्नेबारे अर्थसँग छलफल र राय पनि लिइएको छैन तर नेपाल प्रहरीतर्फ ९ वटा डिआइजी, सशस्त्रमा पाँच वटा र गुप्तचरमा एक एआइजी र २ डिआइजीसहित ५१ जना थप्ने अनि आफू जाँदा सलामी खानको लागि प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा सशस्त्रबाट २३७ जनाको एउटा गुल्म राख्ने अनुमति माग्ने निर्वाचन आयोगमा प्रस्ताव पुर्याइएको छ ।
–जनआस्था साप्ताहिकबाट