राजनीति मुख्य समाचार

भीम रावल र राठोरबीच शाव्दिक घम्साघम्सी, को कति पानीमा ?

रावलको दादागिरीले एमाले त्यागेँ : राठोर, राठोर निच र नैतिकहीन : रावल

भीम रावल र राठोरबीच शाव्दिक घम्साघम्सी, को कति पानीमा ?

काठमाडौं । एमाले परित्याग गरेकै भोलिपल्ट नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका लागि कैलाली क्षेत्र न. २ मा टिकट पाएका निवर्तमान सांसद मोहनसिंह राठोर र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच घम्साघम्सी सुरु भएको छ । भीम रावलले प्रदेश न. ७ का लागि उम्मेद्वारहरुको टिकट एकलौटी ढंगले वितरण गरेको र आफ्नै पिए झपटबहादुर रावललाई आफूले संधै जितिरहेको स्थानमा उम्मेद्वार बनाएको आरोप लगाउँदै राठोरले एमाले त्यागेका थिए । 

यता भीम रावल भने राठोर जस्तो सामन्ती सोच भएको मानिसको एमालेमा कुनै पनि स्थान नहुने बताउँछन् । ‘हिजो म पनि झलनाथ खनालको सल्लाहकार थिएँ, आज नेकपा एमालेको उपाध्यक्ष छु, के अव झलनाथ खनालले मेरो सल्लाहकार भएको भीम रावल नेतृत्वमा पुग्यो भनेर पार्टी परित्याग गर्नु पर्ने, यो त सरासर सामन्ती सोच भएन र ? कि पिएले शासन गर्ने ठाउँमा पुग्नु हुँदैन ?’

नेपाल आजसँगको कुराकानीको क्रममा राठोरप्रति अत्यन्तै आक्रोशित बनेका नेता भीम रावलले भने, ‘हिजो उनलाई पटक पटक पार्टीले टिकट दिँदा, गाविस अध्यक्षदेखि संिवधानसभा सदस्य बनाउँदासम्म भीम रावल प्यारो हुने, आज उनले टिकट पाएनन् भनेर भीम रावलको कसरी दादागिरी हुन्छ ?’ रावलले आफूले शिक्षा मन्त्री त्यागेर राठोरलाई राज्यमन्त्री बनाएकोसमेत बताए ।

राठोरले एमाले त्याग गर्दा भनेका छन्, ‘एमाले पहिलेदेखि नै गुण्डा र डनहरुको पार्टी हो जस्तो लाग्थ्यो तर यो कुरा सही अर्थमा बुझ्न लामो समय लाग्यो ।’ यो तर्क उनले अप्रत्यक्ष रुपमा भीम रावलप्रति पोखेको स्पष्ट छ ।

रावलको भने तर्क अर्कै छ, ‘राठोर जस्तो नैतिक पतन भएको व्यक्तिले एमाले छाडेर पार्टीलाई चोख्याएकोमा खुशी नै हुनुपर्छ । उनी कतिसम्म निच र नैतिकहीन व्यक्ति हुन् यो गम्भीर रुपमा हेर्नु पर्छ । राजनीतिक बेइमानी त उनले असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा देखाइसकेका थिए । तर उनी निच र नैतिकहीन व्यक्ति पनि हुन्, त्यो बाहिर आउनै बाँकी छ ।’

राठोरले असार १४ गते भएको स्थानीय निकायको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा एमालेका उम्मेद्वारलाई असहयोग गर्दै आफ्नै घरमा काम गर्ने व्यक्तिलाई स्वतन्त्र उम्मेद्वारको रुपमा ६ नम्बर वडाको वडाध्यक्षमा पेश गरेका थिए । सोही कारणले पार्टीले क्षति भोग्नु परेको भन्दै उनीसहितका ५६ जनालाई एमाले कैलालीले कारवाही गरेको थियो ।

अहिले देशको सम्पूर्ण निर्वाचन क्षेत्रमा बाम गठबन्धनले जित्नेमा ढुक्क बनेका रावल कैलाली २ मा पनि एमालेकै झपट रावलले बहुमतका साथ जित्ने दावी गर्छन् । त्यसपछि पुनः यदि राठोर एमालेमै आउन चाहे भने पार्टीमा उनको हैसियत के हुन्छ भन्ने प्रश्नमा नेता रावल भन्छन्, ‘भिरबाट लडेको गाईलाई राम राम मात्र भन्ने हो, टाढैबाट । उनी अव यसरी पछारिसके कि उठ्नै सक्दैनन् । आफूले आफ्ना लागि खाल्डो खन्नु उनैको मुर्खता हो, यसमा मेरो केही भन्नु छैन ।’

 

विशेष