राजनीति

एमाले निकट मजदुरलाई कामबाट निकाल्ने उद्योगीसँग बसेर केपी ओलीले खाए मिष्ठान्न भोजन

एमाले निकट मजदुरलाई कामबाट निकाल्ने उद्योगीसँग बसेर केपी ओलीले खाए मिष्ठान्न भोजन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्योग संगठन मोरङका अध्यक्ष पवन सारडासँगै बसेर रात्रिभोज खाएका छन् । अध्यक्ष सारडा ति विवादीत उद्योगी हुन् जसले एमाले निकट मजदुरहरुले ट्रेड युनियन दर्ता गराउन खोज्दा कामबाट हालै निकालेका थिए । 

विराटनगरको बरगाछीस्थित सारडा इलेक्ट्रिकल प्रालीमा काम गर्ने करिब २५ जना मजदुरलाई पवनले कामबाट निकालेका हुन् । नियमित काममा जाने उनीहरुले श्रम ऐनले दिएको अधिकार अन्तर्गत युनियन दर्ताका लागि श्रम कार्यालयमा निवेदन दिएका थिए । एमाले मोरङका युवा नेता पारुल क्षेत्री भन्छन्, ‘सुरुमा पवन सारडाले मजदुरहरुलाई बोलाएर थर्काएछन् । मजदुरहरुले पनि उद्योगीले संगठन खोल्न हुने, त्यो संगठनको अध्यक्षमा तपाई आफै बस्न हुने हामीले एउटा कमिटी बनाउन किन नहुने भनेर प्रश्न गरेछन् ।’

आफ्नै उद्योगमा काम गर्ने मजदुरहरुको जवाफ पछि पवनले प्रहरी बोलाएर मजदुरलाई उद्योग परिसर प्रवेशमा रोक लगाए ।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट सभासद बनेका पवन यसपटक सांसदको दौडमा छैनन् । तर उनीहरुकै जोडबलले उद्योगी मोति दुगडलाई एमालेले समानुपातिकको मधेसी क्लस्टरमा एक नम्बरमा राखेको छ । जसबाट दुगड सांसद बन्ने लगभग तय छ । यहि खुसीयालीमा अध्यक्ष ओलीलाई राखेर पवनले रात्रिभोजको आयोजना गरेका थिए ।

त्यो रात्रिभोज पनि विवादरहित भने हुन सकेन । उद्योग संगठन मोरङ आयोजक भएको कार्यक्रममा पार्टी प्रवेशसम्मका कार्यक्रम गरिए ।

विशेष