रोजगार

कलिलैमा अवैध बाटो

कलिलैमा अवैध बाटो

काठमाडौं । हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र बालबालिका राखिने स्थानहरूमा किशोरकिशोरी रहेको जानकारी नेपाली दूतावासलाई दिएको छ ।

आठरनौ कक्षा पढ्दै गरेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो । अमेरिका जाने गौंडाका रूपमा रहेका कोस्टारिका र पानामाले समेत केही माइनर केन्द्रमा नेपाली रहेको जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई दिएका छन् । विद्यालय शिक्षा पूरा गर्नुपर्ने उमेरका नेपाली किशोरकिशोरी यसरी अवैध रूपमा बाहिरिनु निकै गम्भीर रहेको भन्दै अमेरिकाले नेपाली दूतावासलाई सोधेको हो ।

अमेरिका प्रवेश गरेका किशोरकिशोरीसँग कुनै कागजात हुँदैनन् र उनीहरू कति उमेरका हुन् भन्ने जानकारी नै हुँदैन । तर उनीहरू झट्ट हेर्दा निकै कम उमेरका देखिन थालेपछि नेपालबाट उनीहरूको विवरण मगाएरै अमेरिकाले दूतावासलाई जानकारी दिएको परराष्ट्र अधिकारीले बताए । वासिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार अहिले पनि अमेरिकी केन्द्रमा १६ किशोरकिशोरी छन् ।

केहीको पुष्टि हुन बाँकी छ । केही उमेर पुगेर जेलमा स्थानान्तरण गरिएका छन् भने केही वकिलको सहायतामा त्यहीँ काम गरेर कागज बनाउने प्रक्रियामा छन् । किशोरकिशोरीलाई समेत मानव तस्करले प्रभावमा पारेर विदेश लैजान थालेपछि अमेरिका गम्भीर बनेको दूतावासले जनाएको छ । अमेरिकी सरकारले जानकारी दिएभन्दा बढी किशोरकिशोरी रहेको अनुमान दूतावासको छ ।

कान्तिपुर

विशेष