राजनीति

गगन थापालाई चुनौति दिँदै विवेकशील साझाकी यी २६ वर्षीया उम्मेदवार (भिडियोसहित)

मञ्जु मिश्र

गगन थापालाई चुनौति दिँदै विवेकशील साझाकी यी २६ वर्षीया उम्मेदवार (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जाललाई मुख्य राजनीतिक केन्द्र बनाएको विवेकशील साझा पार्टीले काठमाडौं–४ को प्रतिनिधिसभा उम्मेदवारमा २६ वर्षीया सुबुना बस्नेतलाई उठाएको छ । निडर, सक्षम र पढेलेखेकी सुबुनामा चुनाव जित्नेमा दृढ विश्वास छ । सोही विश्वासकै कारण उनले चुनाव जितेपछिका योजनाहरु पनि बनाएकी छन् । आफ्नो योजनामा उनले युवा र महिलालाई विशेष प्राथमिकता दिएकी छन् ।

यसैगरी चारुमती गुम्बा, पशुपतिनाथ, कपनको सडक तथा ढल र बालबालिकाको स्तरीय शिक्षाका लागि उपयुक्त नीतिहरु तर्जुमा गर्ने अठोट पनि उनको छ ।सुबुना काठमाडौंको जुन क्षेत्रबाट चुनाव लड्दै छिन्, त्यहाँ नेपाली कांग्रेसले जुझारु, युवा पुस्तामाझ लोकप्रिय, प्रखर वाकपटुता भएका एवं पूर्वमन्त्री गगन थापालाई उम्मेदवार बनाएको छ । गगन थापाका अगाडि जो कोही उम्मेदवारलाई जित्न कठिन हुने विश्लेषण भइरहेका बेला विवेकशील साझाकी उम्मेदवार सुबुना भने आफ्नो जित सुनिश्चित भएको दाबी गर्न पछि पर्दिनन् । हुन पनि सुबुना राजनीति बुझेकी, देशका लागि केही गर्न सकिन्छ कि भन्ने सोच्ने युवती हुन् । उनको वाक कला पनि लोभलाग्दो छ । प्रखर वाक कला र लोभलाग्दो प्रस्तुतिका कारण पनि काठमाडौं–४ का मतदाताले उनलाई साथ दिइरहेको अनुभूति गर्न सकिन्छ ।

आफूले जिते बेथिति र भ्रष्टाचारलाई सधैंका लागि परास्त गर्ने उनको योजना छ । देशलाई समृद्धिका खातिर अगाडि लैजाने दृढ आत्मविश्वास उनमा देखिन्छ । ‘जागरुक र कसैको पनि दास नभएका जनताले मलाई समर्थन गरिरहेका छन्, उनीहरुकै मतले म जित्छु,’ सुबुना भन्छिन् ।

सुबुनासँग निर्वाचन खर्चका लागि एक लाख रुपैयाँ छ । त्यो पनि मामा र काकाहरुले दिएको । ‘मेरो विवाहका लागि उहाँहरुले जम्मा गर्नुभएको पैसा मैले चुनाव खर्चका लागि मागेको हुँ, त्यही पैसाले म चुनावमा उठेको हुँ,’ सुबुनाले लजाउँदै भनिन् ।

उनले आफ्नो पार्टीले जहाँ चुनावी सभा ग-यो त्यसको खर्च त्यहीँ उठ्ने पनि सुनाइन् । एउटै चुनावी सभाबाट पाँच हजारदेखि ५६ हजार रुपैयाँसम्म खर्च उठ्ने गरेको पनि उनले सुनाइन् । २०६३ सालमा एसएलसी उत्तीर्ण गरी व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी सुबुनाले इलामे घिउ र डल्ले खुर्सानीको अनलाइन व्यापार पनि गरिरहेकी छन् । यसैबाट उनको दैनिक गुजारा पनि चलिरहेको छ ।

Gagan Thapa Subuna Basnet

विशेष