राजनीति

नेपाली कांग्रेसद्वारा १८ जनाको पार्टी सदस्यता खारेज

नेपाली कांग्रेसद्वारा १८ जनाको पार्टी सदस्यता खारेज

लुम्बिनी  । नेपाली काँग्रेस रुपन्देहीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको जनाएको छ।

नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो।

पार्टीको विधानअनुसार रुपन्देही क्षेत्र नं १ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उनका प्रस्तावक खुमलाल गौतम र समर्थक नीमबहादुर थापाको पार्टी सदस्यता खारेज गरेको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए।

त्यस्तै क्षेत्र नं ३ को १ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उनका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं ३ को २ बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेस बिपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उनका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गरेको सभापति रज्जाकले जानकारी दिए।

त्यस्तैगरी रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका अमृतलाल भट्टराई र उनका प्रस्तावक शालिकराम पाण्डे तथा समर्थक दिनेशप्रसाद पाण्डे, क्षेत्र नं ४ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि वीरेन्द्र कलवार उहाँका प्रस्तावक सीताराम पाल तथा समर्थक मनोजकुमार कलवार, क्षेत्र नं ५ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि अमेरिका कोहार तथा उनका प्रस्तावक कलामुद्धिन मुसलमान र समर्थक दिनेशचन्द्र बर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो।

सभापति रज्जाकले पार्टीको नीति तथा हितविपरितका गतिविधि गर्नेलाई तत्काल कारबाही गरिने पनि बताए।

विशेष