विचित्र विश्व

जापानी 'ब्लाक बिडो' महिला तीन जनासँग शारिरीक सम्पर्कपछि हत्या, मृत्युदण्डको सजाय सुनाइयो

जापानी 'ब्लाक बिडो' महिला तीन जनासँग शारिरीक सम्पर्कपछि हत्या, मृत्युदण्डको सजाय सुनाइयो


जापान । जापानकी एक ७० वर्षीया महिलालाई आफ्नो पतिसहित तीन पुरुषको हत्या तथा एक अर्काको हत्याको प्रयास गरेको मामिलामा दोषी करार गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ ।

चिसाको काकेहीमाथि इन्सुरेन्सबापतको लाखौँ रकम हत्याउन साइनाइड नामक विषको प्रयोग गरेर आफ्ना प्रेमीहरुको हत्या गर्ने गरेको आरोप छ । उनका वकिलहरूले सजायविरुद्ध पुनः अपील गर्ने तयारी गरेका छन् ।

सरकारी वकिलहरूले उनले धेरै उमेर भएका धनाढ्य पुरुषहरूलाई आफ्नो शिकार बनाउने गरेको बताएका छन् । जापानी मिडियामा उनलाई ‘ब्ल्याक विडो’ भनेर चिनिन्थ्यो । ब्ल्याक विडो नामक माकुराले शारीरिक सम्पर्कपछि पुरुष माकुरा खाने गर्छ ।

कोयोटो जिल्ला अदालतले काकेहीले चार विभिन्न घटनामा ‘हत्याको उद्देश्य’ले साइनाइडको प्रयोग गरेको पाइएको ठहर गर्दै उक्त अपराधमा उनलाई दोषी ठहर गरिनुपर्ने बताएको छ ।

‘हरेक घटनामा सर्तकतापूर्वक पूर्व तयारी गरिएको थियो । मसँग उनलाई मृत्युदण्डको सजाय दिन बाहेक अन्य कुनै विकल्प छैन,’ न्यायाधीस आयाको नाकागावाले भने ।

काकेहीले कानमा आवाज सुन्ने यन्त्र लगाएकी थिइन् र बारम्बार न्यायाधीसलाई ठूलो आवाजमा बोल्न आग्रह गरेकी थिइन् । उनलाई मृत्युदण्डको सजाय सुनाउँदा कुनै प्रतिक्रिया समेत जनाइनन् ।

काकेहीमाथि सन् २०१३ को डिसेम्बर २८ मा आफ्नो चौँथो पति ७५ वर्षीय इसाओ काकेकीको हत्या गरेको आरोप लगाइएको थियो । उनले विवाह गरेको एक महिनामा नै उनको हत्या गरेकी थिइन् । त्यस्तै उनले सन् २००७ र २०१३ को बीचमा आफ्ना दुई प्रेमीको हत्या गरेको आरोप लगाइएको छ ।

उनीहरूको हत्यापछि पाएको बीमा रकमबाट उनले करिब ८८ लाख डलर जम्मा गरेकी थिइन् । १३५ दिन चलेको म्यारथन सुनवाईको दौरान काकेहीले आफ्नो पतिको हत्या गरेको स्वीकार गरेकी थिइन् । पछि त्यसलाई पुनः अस्वीकार गरिन् ।

काकेहीका वकिलहरूले उनलाई डिमेन्सिया नामक रोग लागेको कारण उनलाई आपराधिक सजाय सुनाउन नमिल्ने तर्क प्रस्तुत गर्दै पुनरावेदनमा जाने बताएका छन् ।

विशेष