राजनीति

यी उद्योगी जसले पत्रकारलाई प्रवेश दिए, मन्त्रीलाई गेटबाटै फिर्ता पठाइदिए

यी उद्योगी जसले पत्रकारलाई प्रवेश दिए, मन्त्रीलाई गेटबाटै फिर्ता पठाइदिए

अघिल्लो रातको सल्लाहअनुसार भोलिपल्ट पीताम्बर दाइ (पिताम्बर दाहाल, ठाकुरराम बहुमुखी क्याम्पसमा प्राध्यापन गराउनु हुन्थ्यो) ले शंकर केडियाको गद्दीमा पुर्याउनुभयो । शंकर केडियाँ नाउँ चलेका वीरगन्जका व्यापारी थिए ।

उनी व्यापार उद्योग सबै गर्थे । राजनीति र पत्रकारितादेखि समाजिक कार्य गर्ने सबैसँग समान पहुँच राख्थे । उनका बारेमा मैले यस्ता कुरा सुनेको थिएँ । भेट भएको थिएन । पीताम्बर दाइले केडियाबाट नियमित विज्ञापनको व्यवस्था म मिलाइदिन्छु, अखबारमा केही मद्दत गर्नुपर्छ भन्नुभयो ।

मैले केही पनि भनिनँ । उहाँसँगै केडियाको गद्दीमा पुगेँ । पीताम्बर दाइ पुग्नासाथ गद्दीमा बसिरहेकाहरु उठेर ‘माड्साब’ भन्दै नमस्कार गर्न थाले । उहाँको राम्रो पहुँच रहेछ । हामी पुगेको खबर तत्काल शंकरजीसामु पुग्यो र बोलाहट पनि आयो । शंकरजीले उठेर पीताम्बर दाइलाई नमस्कार गरे । अनि दाईले मेरो परिचय गराउँदै भन्नुभयो, ‘यिनी मेरो भाइ पुरुषोत्तम दाहाल हुन् । राष्ट्रपुकारमा काम गर्दै थिए, छाडेर अब नेपालवाणी प्रकाशित गर्न लागेका छन् । शंकरबाबुले सहयोग गर्नुपर्यो ।’

शंकर केडियाले चिया मगाए । त्यसै समय पन्चायतको कुनै सहायकमन्त्री त्यहाँ आएको खबर पुग्यो । उनले आफ्नो ‘मुन्सी’लाई भने, ‘दुई हजार दिएर पठाउनु मलाई भेट्नु छैन ।’ म छक्क परे । सहाकयमन्त्री २ हजार लिन शंकर केडियाकहाँ पुग्दा रहेछन् र त्यति ठूलो अपमानित भएर पैसा लिन हिच्किचाउँदा रहेनछन् ? धत् म मनमनै पञ्चायती र पञ्चचरित्रमाथि धिक्कार गर्दै थिए ।

शंकरजीले हामीपट्टि फर्केर भन्दै थिए, ‘मन्त्रीहरु र अञ्चलाधीहरुलाई महिनावारी नभरी हुँदैन । २/४ हजार वेट र काम हेरेर दिनुपर्छ ।’ अनि उनले राष्ट्रपुकार र होमनाथ दाइ (होमनाथ दाहाल) को प्रशंसा गर्दै भने, ‘दाहालजीले मेराविरुद्ध खुब लेख्नुभयो, तर, केही माग्नुभएन उहाँ इमानदार हुनुहुन्छ ।’ र, उनले थपे, ‘म पनि कांग्रेस हुँ नि । मैले २०३६ सालको जनमत संग्रहमा विपी बाबु (विश्वेश्वर प्रसाद कोइराला) आउनुहुँदा ७५ हजार चन्दा थिएको थिएँ । उहाँ खुसी हुनुभयो । के गर्नु बहुदलले जितेन ।’

शंकर केडियाको कुरा सुनेर मलाई रमाइलो गर्न मन लाग्यो । मैले सोधे, ‘प्रधानमन्त्री सूर्यबहादुर थापाले चाहिँ तपाईसँग निर्दललाई जिताउन चन्दा मागेनन् ?’ उनले साउतीको र उपेक्षाको स्वरमा भने, ‘किन नमाग्नु ? थोडासा पिचिक्क दिएको थिएँ ।’

मैले फेरि सोधेँ, ‘कति दिनुभयो ?’ सम्झना होला नि । एकछिन यस्तै जिरह गरेपछि उनले सुर्यबहादुरलाई ‘२१ लाख मात्र दिएँ’ भने । म छक्क परे । निर्दल जिताउन २१ लाख चन्दा दिएको थोरै भयो र बिपीलाई ७५ हजार दिएको धेरै भएर शंकरजी कांग्रेस भएको महुसस गर्दछन् कसरी ?

मेरो यो प्रशनको उत्तर झन रमाइलो थियो । शंकरजीको उत्तर थियो, ‘सुर्यबहादुरलाई २१ लाख चन्दा दिएपछि मैले कोरियन एन्कर दूधको लाइसेन्स लिए । जसबापत झण्डै १ करोड २५ लाखभन्दा बढी कमाइ भयो । २१ लाख घटाउँदा १ करोड ४ लाख हात पर्यो । यो त व्यापार थियो । विपीलाई दिएको ७५ हजारको त मैले केही फाइदा लिइन ।’

उनको यस्तो तर्क सुनेपछि मैले केही भन्ने ठाउँ बाँकी नै रहेन । यो संवाद पीताम्बर दाइलाई त्यति मन परेको थिएन । उहाँमा शंकरजी रिसाउँछन् कि भन्ने चिन्ता थियो ।

पत्रिका चलाउने कुरा चल्यो र सहयोगको सन्दर्भ उठ्यो । शंकरजी त्यसबेला पाम आयल सम्बन्धी मुद्दा खेपिरहेका थिए । मिति काटेको विषाक्त पाम आयल भित्र्याएको अभियोग उनलाई थियो । उनले सिधै पत्रिकाबाट बचाउ गर्न प्रस्ताव गरे ।उनको तर्क थियो, ‘मिति सकिनु एक दिन बाँकी हुँदा भित्रिएको भए ठीक हुने मिति सकिएको ठीक एक दिनपछि मात्रै आउँदा बेठीक हुने कसरी हुन सक्छ ?’ उनको तर्क ठिकै थियो । तर, मैले सोधे, ‘आयल चाहिँ कहा छ ?’ उनले हास्दै भने, ‘भन्सारमा आयलका ड्रमहरु छन् । तेल त बजारमा पुगिसक्यो । ड्रम विरुद्ध मुद्दा चलाएर सरकार बसेको छ । अब म तेल नभएको भन्दै खाली ड्रम देखाएर क्षतिपूर्तिका लागि मुद्दा दायर गर्नेछु ।’ यसो भन्दै उनी मरीमरी हाँसे । उनको त्यो हाँसो त्यस बेलाको राजनीतिक आर्थिक भष्ट्राचारको एक प्रत्यक्ष प्रमाण र कुरुप साक्षी थियो । आयल जति भन्सारबाट बजारमा पुगिसकेको थियो । त्यसमा कर्मचारी, प्रहरी, पञ्च, अञ्चलाधीश सबै अंसियार थिए । खाली ड्रमले मुद्दा खेप्दै थियो ।

अब शंकरजी तेल हराएको वा चुहेर सकिएको भन्ने नाउँमा सरकारबाट क्षतिपूर्ति भराउने दाउमा लागेका थिए । त्यो सुनेपछि मैले केही भनिनँ । मलाई यिनका कुरा छापौं जस्तो लाग्यो । तर उपयुक्त लागेन । उनले काठमाडौंको कालिमाटीस्थित कार्यालयबाट सामाग्री लिएर छाप्न र बिल भुक्तानी गर्न भने । म हाँस्दै निस्किएँ र पीताम्बर दाइलाई भने, ‘म उनको पक्षमा लेख्न सक्तिनँ ।’

बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको ‘मेरो पत्रकारिता’ पुस्तकबाट साभार

विशेष