पहिलो तेस्रोलिंगी महिला बन्दै चुनावी मैदानमा पिंकी
काठमाडौं । नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङ (सञ्जीव)ले नयाँ शक्ति नेपालको तर्फबाट तेस्रोलिंगी महिलाबाट उम्मेदवारी दिएकी छन् । सन् २००८ मा नेपालमा पहिलोपटक समलिंगी पुरुष सुनिलबाबु पन्तलाई संविधानसभा सदस्य बनाइएको भए पनि अहिलेसम्म तेस्रोलिंगी महिलाका तर्फबाट भने त्यो तहको निर्वाचनमा कोही पनि होमिएका थिएनन् ।
लमजुङ बिचौर घर भएकी पिंकी २९ वर्षकी भएपछि मात्र तेस्रोलिंगीका रूपमा खुलेकी थिइन् । नीलहीरा समाजमा आबद्ध भएर आफ्नो समुदायका लागि काम गर्दै आएकी उनी नयाँ शक्ति पार्टीको स्थापना कालदेखि सक्रिय थिइन् । उनले भनिन्, ‘म नै पहिलो तेस्रोलिंगी महिला हुँ जसले आगामी (प्रदेश तथा प्रतिनिधिसभा) निर्वाचनमा स्थान पाएँ ।'
नयाँ शक्तिले दिएको अवसरबाट आफू खुसी भएको जानकारी दिँदै उनले आफ्नो समुदायका मानिसलाई अझै परिचालित गर्ने र समुदायको हितका लागि काम गर्ने योजना बनाएको बताइन् । पिंकी भन्छिन्, ‘नेपालमा नौ लाख तेस्रोलिंगी छन् । सम्पूर्ण जनसंख्याको ८.१ प्रतिशत तेस्रोलिंगी छन् तर उनीहरू समाजबाट तिरस्कृत हुन बाध्य छन् । यस्तो भेदभाव हटाउनुपर्नेछ ।'
तेस्रोलिंगी महिला पिंकीलाई समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नयाँ शक्तिले सिफारिस गरेको हो । आयोगले सार्वजनिक गरेको समानुपातिकको सूचीमा उनको नाम तीन हजार चार सय ७४ नम्बरमा छ भने नयाँ शक्तिले तीन सय २९ जनाको नाम समानुपातिकमा पठाएको छ ।
tesro lingi pinki gurung