राजनीति

कैलालीका नरसंहारकारी रेशम चौधरी माननिय बन्ने पक्का, प्रहरी भन्छ समात्छौं

कैलालीका नरसंहारकारी रेशम चौधरी माननिय बन्ने पक्का, प्रहरी भन्छ समात्छौं


धनगढी । नेपाल प्रहरीका एसएसपीसहित ८ जना प्रहरी र एक नाबालक गरी ९ जनाको ज्यान गएको टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीको अप्रत्याशित अग्रताले धेरैलाई अचम्मित तुल्याएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार चौधरीले अप्रत्याशित मत प्राप्त गरेपछि उनले चुनाव जित्ने लगभग पक्का भएको अड्कल लगाउन थालिएको छ।

आइतबार बिहान सार्वजनिक परिणामअनुसार रेशमले १० हजार २ सय २७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनबाट संयुक्त उम्मेदवार नेकपा एमालेकी गरिमा शाहले १ हजार ९ सय ९० र कांग्रेसकी ईश्वरी न्यौपानेले १ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् । रेशमले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ गुणा बढी मत ल्याएका छन्।

टीकापुर घटनाका मुख्य अभियुक्तको आरोपमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशमले चुनाव जिते के उनलाई प्रहरीले पक्राउ गर्ला ? यो प्रश्न धेरैको मनमा उब्जिएको छ।

हिंसात्मक आन्दोलनका नाइके भनेर प्रहरीले रेशमलाई २६ महिनादेखी फरारसूचीमा राख्दै खोजी गरिरहेको छ। रेशम कैलालीको सीमा नजिककै भारतीय बस्तीमा बसिरहेको सुराक प्रहरीलाई भए पनि उनलाई हालसम्म पक्राउ भने गरिएको छैन। रेशमले चुनाव जितेमा उनलाई लागेको मुद्दा फिर्ता हुने नहुने वा उनलाई पक्राउ गर्ने नगर्ने बिषयमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले त्यो अन्तिम मत परिणामपछिको कुरा भएकाले अहिले केही भन्न नसकिने बताए । रेशमले चुनाव जिते के हुन्छ भन्ने प्रश्नमा उनले ठट्यौली पारामा माननीय हुन्छन् भन्ने जवाफ दिए तर चुनाव जितेपछि पक्राउ गर्ने नगर्ने बिषयमा भने हाललाई केही भन्न नसकिने बताए।

तर कैलालीका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले भने चुनाव जितेर आएपनि रेशमलाई जहाँ भेट्यो त्यही समात्ने बताएका छन्। उनले रेशम प्रहरीको नजरमा फरार अपराधी भएकोले भेटिएमा ठाउँको ठाउँ समात्ने र अदालतलाई बुझाउने बताए। ‘हाम्रो नजरमा रेशम फरार अपराधी हो,’ एसपी घिमिरेले भने, ‘चुनाव जितेर आउने कुरा सरोकारको बिषय होइन, फरार अपराधी भेटिएमा पक्राउ गरिन्छ।

यता अग्रस्थानमा रहेका रेशमले आफ्ना लागि सिंहदरबारको ढोका खुल्ने दाबी गरेका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देश पठाउँदै उनले आफूले चुनाव जिते सिंहदरबारको ढोका खुला रहने बताएका छन्। चुनाव जितेपछि आफूलाई पक्राउ गर्न खोज्नु जनमतको बिरोधी हुने उनले बताएका छन्। रेशमले टिकापुर घटनामा आफूलाई लगाएको आरोप निराधार रहेको बताउँदै आएका छन्

विशेष