बाम बलियो रहेकै ठाउँमा बामदेबको बेहाल, कारण : अन्तरघातदेखि नोटबन्दीसम्म
पश्चिम तराईमा बामपन्थी सबैभन्दा बलियो रहेको बर्दियामा एमाले उपाध्यक्ष बामदेब गौतम कडा चुनौति सामाना गरिरहेका छन् । सायदै कसैले सोचेको थियो दुबै बाम पार्टी एमाले र माओवादीको कडा पकड रहेको बर्दियामा बलिया बामदेबले यति बिघ्न ब्यवधान बेहोर्नुपर्ला । बाम बर्चश्व रहेको बाह्रबर्दिया नगरपालिकालाई क्षतिपूर्ति भर्ने ठाउँका रुपमा हेरिएको छ । मुश्किलले यही ठाउँले उम्काउन सक्ने आशालाई थाति राख्ने हो भने भाबी प्रधानमन्त्रीका रुपमा हेरिएका बामदेब गौतम पराजयको सन्निकट छन् । उनलाई गौतम नै थर रहेका राजनीति र उमेरले भाइ संजय गौतमले अप्रत्याशित चुनौति दिएका छन् । एमाले र माओवादीको स्थानीय तहको निर्वाचनको मत जोड्ने हो भने गौतम कम्तिमा पनि दोब्बर मतले बिजयी हुने थिए । तर, मन्त्रीसमेत रहेका काँग्रेस नेता संजय गौतमले चमत्कारिक भोट ल्याइदिएपछि सामान्य जोडघटाउ फेरिएको छ ।
संजय बर्दियाबाट निर्वाचित सांसद हुन् तर उनी निर्वाचित हुँदाकै स्थितिको मत हेर्ने हो भने पनि एमाले र माओवादीको मत जोड्दा उनको भन्दा झण्डै दोब्बर हुन्थ्यो । उनको र एमालेको बीचको मतान्तर झण्डै १५ सय मात्र थियो भने बामदेब गौतम फराकिलो मतान्तरले बिजयी भएका थिए साबिकको एक नम्बर क्षेत्रबाट । गौतमले काँग्रेस उम्मेदवारलाई निकै पछि पारेका थिए । सो हिसावले हेर्दा बामदेबले ठूलै मतान्तरले बिजयी हुने ठानिएको थियो । तर, अहिले जितिहाले पनि राँैचिराको अन्तरले जित्तेछन् । हार भए त भइहाल्यो ।
कारण यस्ता छन् ।
१. अन्तरघात
बामदेब गौतमलाई भाबी प्रधानमन्त्रीका रुपमा हेरिएको थियो र उनले सोको घोषणा पनि गरिसकेका थिए । माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउने र गौतम प्रधानमन्त्री बन्ने गरी भएको भनिएको गोप्य सहमतिले एमालेवृत्तलाई तरंगित पारेको थियो । मत परिणाम हेर्दा गौतमलाई अन्तरघात भएको प्रष्टै देखिन्छ । स्थानीय निकायमा एमाले बलियो देखिएको गौतमकै ठाउँ बाँसगडीमा गौतमलाई कम मत परेको छ । पार्टी अध्यक्ष केपी ओली निकट जिल्ला नेताहरुको स्थानमा गौतमलाई कम मत परेको विषय चर्चामा छ । गौतम प्युठान र बर्दियाबाट बिजयी भएपछि दोस्र्रो संविधानसभामा गौतमले बर्दिया छाडेका थिए । उपनिर्वाचनमा पनि एमाले बिजयी भएको थियो । साँसद श्याम ढकाल पार्टी अध्यक्ष ओली पक्षका पूरानै नेता हुन् । उनको क्षेत्रमा समेत बामदेबलाई धक्का लागेको छ ।
२. नोटको चर्चा
चुनावको पूर्वसन्ध्यामा बामगठबन्धनका केही नेतालाई काँग्रेसका उम्मेदवारसमेत रहेका सिँचाइ मन्त्री संजय गौतमले आर्थिक प्रभावमा पारेको चर्चा चुलिएको थियो । विभिन्न ढंगले बामगठबन्धनका नेतालाई काँग्रेसले हातमा लिएको चर्चा पुष्टि भएको भन्दै बामगठबन्धनमा संकाउपसंका बढेको छ । काँग्रेस उम्मेदवार संजय जिल्लाकै सम्पन्न मानिन्छन् र, उनका लागि दुई चार करोड सामान्य रहेको बताइन्छ ।
३. बामदेबको घमण्ड
अन्तरघातलाई परास्त गर्न सक्थे बामदेबले यदि उनी बर्दियाका लागि सहज भइदिएको भए । तर, उनी सामान्य मतदाताको पहुँचमा हुँदै भएनन् । आफ्नै साँसद उपप्रधान र गृहमन्त्री हुँदाको लाभ बर्दियाले पाएन । बबइ सिँचाइ योजनालगायतका केही पूराना विकासका कामभन्दा नयाँ देखाउने उदाहरण बर्दियालीले केही पाएनन् । विकास त पाएनन् नै, आफ्नो प्रतिनिधि हुँदाको अनुभुति पनि हुन सकेन । अर्कोतर्फ विकास खाशै केही गर्न नसकेपनि संजय गौतमको व्यवहारिक पक्ष उदाहरणीय रह्यो । मिठास बोलीका धनी संजय निरन्तर जिल्ला गइरहे । बाढीको विपत्तिमा उनले गाउँगाउँ चहारेर पीडितसँग आफूसँगै रहेको सन्देश दिए । राहत दिन नसकेपनि राहतका लागि आफूले आवाज उठाएको पुष्टि गर्न उनी सफल रहे । संसदमा भक्कानिएको भिडियो उनको पक्षमा प्रमाणका रुपमा चुनावका बेला भाइरल बनाइयो । उता गृहमन्त्री रहेका गौतमले बाढी आउँदैमा आफू जान पर्छ भन्ने नरहेको भन्ने अभिव्यक्तिलाई मसला बनाइयो ।
४. प्रतिशोधको भाब
बामदेब गौतम पटक पटक निर्वाचित भए । पटक पटक उपप्रधानमन्त्री र गृहमन्त्री भए । तर, बर्दियामा विकास सुन्यप्राय रह््यो । संजय पनि नयाँ होइनन् तर बामदेबको तुलनामा उनी पूराना होइनन् । एमाले नेताकै छोराछोरीले सधैँ एउटैलाई भन्दै सामाजिक संजालमा टिप्पणी लेखेका थिए । झट्ट हेर्दा बिबेकशील साझालाई समर्थन गरेजस्तो देखिएपनि त्यो भाबले बामदेबलाई झटारो हान्यो । फाइदा संजयलाई पुग्यो ।
दोस्रो संविधानसभामा बिजयी भएका बामदेबले बर्दिया छाडे । प्युठान रोजेका बामदेबले फेरी बर्दिया रोजे । उनी भाबनात्मकरुपमा यता न यताको जस्तो देखिन पुगे । प्युठानको सुरक्षित ठाउँ छाडेका थिए बामदेबले किनकी उनलाई लागेको थियो बर्दियामा त्यसै जितिन्छ । तर, त्यसै जितिने ठानिएको बर्दिया नै बनिदियो फलामको च्युरा ।
५. अनौठो संयोगः बामगठबन्धन सबैतिर, सूत्रधार ओरालोतिर
बामगठबन्धनले काँग्रेसकै किल्लामा धाबा बोलिरहँदा कम्युनिष्ट किल्लाबाट बामगठबन्धनका सूत्रधार पछारिएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखाबाट नराम्रोसँग पराजित भए । एमालेका उपाध्यक्ष गौतम बर्दियामा बिजोग अबश्थामा छन् । श्रेष्ठ र गौतमलाई बामगठबन्धनको सारथी मानिन्छ । गठबन्धनकै कारण भुसुनाले पनि जितेको चर्चा चलिरहँदा माउहरु कै बिचल्ली हुनु अनौठो संयोग वा अरु केही ? समीक्षाको विषय बनेको छ ।