कृष्ण सिटौला साढे १३ हजार मत अन्तरले पराजित, को हुन् लिङ्देन ?
झापा । कांग्रेस नेता कृष्ण सिटौला पराजित भएका छन् । झापा ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेका सिटौला राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए । कांग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याए ।
राप्रपा नेपालका महामन्त्री राजेन्द्र प्रसाद लिङदेनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । उनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन् । २०३९ सालदेखि राजनीति सुरु गरेका लिङदेन राप्रपाको विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी संगठनको संस्थापक अध्यक्ष समेत हुन् । २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापमा वडाध्यक्ष विजयी उनी २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित भएका थिए । २०५६ सालको चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो भएका लिङदेन २०७० सालको चुनावमा दोश्रो भएका थिए । २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भएका थिए ।