राजनीति

यस्तो आयो पराजयपछि वामदेवको २ पन्ने विज्ञप्ती, यसो भन्छन् (विज्ञप्तीसहित)

यस्तो आयो पराजयपछि वामदेवको २ पन्ने विज्ञप्ती, यसो भन्छन् (विज्ञप्तीसहित)

काठमाडौं । बर्दिया । बर्दिया–१ मा एमाले उम्मेदवार बामदेव गौतम पराजित भएका छन् । उनी नेपाली कांग्रेस सञ्जयकुमार गौतमसँग ७५३ मतको अन्तरले पराजित भएका हुन् । विजयी गौतमले ४४ हजार आठ सय २९ मत पाउँदा बामदेवले ४४ हजार ७६ मत पाए ।

पराजयपछि वामदेवले यसो भने

मिति– २०७४-०८-२४
पे्रस विज्ञप्ती

निरन्तरको संघर्ष र बलिदानपछि नेपाली जनताले समाजवादाउन्मुख लोकतान्त्रिक गणतन्त्रको संवैधानिक प्रत्याभुती प्राप्त गरेका छन् । २०७२ सालमा नयांँ राजनीतिक व्यवस्थाको रुपमा यसलाई संविधानभित्र समेटिएको छ र त्यसको कार्यान्वयनकै प्रकृयामा अगाडि बढ्दै हामीले स्थानीय निर्वाचन, संघीय प्रतिनिधिसभा र प्रदेशसभाको समेत निर्वाचन सम्पन्न गरिसकेका छौं । देशभित्रैबाट र संसारका कतिपय प्रभुत्ववादी एवं साम्राज्यवादी शक्तिले नेपाली जनताले प्राप्त गरेको यो महत्वपूर्ण उपलब्धिलाई बीचैमा निमोठ्ने र असफल बनाउने दुश्प्रयासहरु गरेता पनि नेपाली जनताको एकताले त्यस्ता प्रयासलाई सहजै निस्तेज बनाइदिएका छन् । हामी पूर्णरुपमा सफलताका खुड्किला चढ्दै अगाडी बढिरहेका छौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले आगामी दिनमा लोकतान्त्रिक अभ्यासमार्फत् देशलाई विकास र समृद्धिको पथमा अगाडी बढाउन ढोका खुलेको छ ।

म वाम गठबन्धनको एउटा प्रमख सूत्राधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु । म व्यक्तिगत रुपमा पराजित हुन परे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन । जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ ।

यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ उर्जाका साथ लागि पर्ने विश्वास पनि दिलाउन चाहन्छु । एउटा कम्युनिष्ट पार्टीको जिम्मेवार नेताको हैसियतले आगामी दिनमा सामाजिक न्याय, समानाता र समुन्नतीको लागि मैले गर्नसक्ने धेरै काममा मेरो उत्साहपूर्ण सहभागिता रहनेछ र राष्ट्र, राष्ट्रियता र जनताको हितमा मेरा पाइला सदैव अग्रगामी बनिरहनेछन् भन्ने विश्वास पनि सबै शुभचिन्तक एवं सर्वसाधारण जनतामा दिलाउन चाहन्छु । बर्दिया क्षेत्र नम्बर १ का मतदाता एवं सम्पर्ण जनता, जसले मलाई मत दिनुहुने तथा मप्रति सद्भाव राख्ने सम्पूर्ण जिल्लावासी बुवा, आमा, दाजुभाई तथा दिदी बहिनीप्रति म आभार व्यक्त गर्दै उहाँहरुको इच्छा, आकांक्षा तथा विकासका कैयन आवश्यकता परिपूर्ती गर्नमा मेरो निरन्तर प्रयत्न भइरहनेछ । म सदैव तपाईंहरुको प्रतिनिधिकै रुपमा क्रियाशील भइरहनेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।

आगामी दिनमा वाम गठबन्धनले प्राप्त गरेको यो अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपिदिएको मैले महसुस गरेको छु । नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको यो अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने गरी सबै चुनौतीको सामना गर्न मेरो पार्टीका सहयोद्धा कमरेडहरु र समग्र बाम गठबन्धनका सहयात्री कमरेडसँग काँधमा काँध मिलाई अगाडि बढिरहनेछु भन्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।

अन्त्यमा, यो जनविश्वासलाई बाम गठबन्धन वा कम्युनिष्टहरुको पक्षमा दीगो बनाई रहनका लागि र शदियौँसम्म नेपाल राष्ट्रको पुँजीको रुपमा यसलाई बचाइरहन सबैतिरबाट आवश्यक सहयोगको अपेक्षा पनि गर्दछु ।

(वामदेव गौतम)
उपाध्यक्ष
नेकपा (एमाले), केन्द्रीय कमिटी
अध्यक्ष, अखिल नेपाल किसान महासंघ

विशेष