राजनीति

प्रचण्डलाई गोरखाको राइफल रोल्पा पुर्‍याउने दीपेन्द्र पुन प्रदेशसभामा निर्वाचित

प्रचण्डलाई गोरखाको राइफल रोल्पा पुर्‍याउने दीपेन्द्र पुन प्रदेशसभामा निर्वाचित

रोल्पा । रोल्पाको निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभाका लागि वाम गठबन्धनका उम्मेदवार एवम् माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य दीपेन्द्रकुमार पुनमगर विजयी भएका छन् । माओवादी केन्द्रका रोल्पा र रुकुम जिल्ला इन्चार्ज समेत रहेका पुनमगर २४ हजार ४ सय ९० मतसहित विजयी भएका हुन्।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता खगेन्द्रप्रकाश हमाल ९ हजार ९ सय ६९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका छन्। हमाल भन्दा पुनले १४ हजार ५ सय २१ मत बढी मत ल्याएर जित हासिल गरेका हुन्। निर्वाचन क्षेत्र ख मा ३८ हजार ८ सय ६८ मतदान भएको थियो। गणनाको कार्य सकिए पनि विजयी घोषणा गर्ने तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुटेको छ। विजयी प्रमाण पत्र भने भोली दिइनेछ ।

२०५२ साल फागुन १ गते होलेरी चौकी आक्रमणमा संलग्न हुँदै भूमिगत बनेका पुनमगर ‘सिजल’ नामबाट परिचित छन्। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका लागि पाल्पाबाट पाएको सभासद्को उम्मेदवारी टिकट छाडेका पुनमगर पहिलो पटक गृह जिल्लाबाटै उम्मेदवार बनेर विजयी बनेका हुन्। त्यसताका रोल्पा इन्चार्ज रहेका पुनमगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाबाट संविधान सभा उम्मेदवार बनेकाले अध्यक्षलाई जिताउन कै लागि पाल्पाबाट पाएको टिकट छोडेको बताउछन् ।

माडीगाउँपालिका–६ कोर्चाबाङमा जन्मिएका पुनमगर पार्टीभित्र चलाख नेताका रुपमा चिनिन्छन्। युद्धका वेला आन्तरिक दुघर्टना हुँदा हात गुमाएका पुनमगर ‘जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघको केन्द्रीय अध्यक्ष समेत हुन्। भौतिक पूर्वाधार, सडक, विद्यालय भवन निर्माण गर्ने र कृषिको व्यवसायीकरण र शैक्षिक जागरणबाट जनस्तर र आर्थिक समृद्धिको आधार तयारमा जुट्ने विजयी पश्चात उनले दावी गरेका छन् ।

को हुन् दीपेन्द्र ?

२०३२ चैत्र १० गते बुबा सर्वजित पुनमगर र आमा कौशिला पुनगमरको कोखबाट जन्मिएका पुनमगर नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन्।

रोल्पा नगरपालिकाको माडीचौरमा बस्दै आएका पुनमगर २०४२ सालबाट विद्यार्थी संगठन हुँदै राजनीतिमा प्रवेश गरेका हुन्। अनेरास्ववियु छैठौंको सदस्य बनेका उनी २०४९ मा महेन्द्र बहुमुखी क्याम्पस दाङको विद्यार्थी संगठनको अध्यक्ष हुँदै जिल्लाकै नेतृत्व गरेका थिए। ‘पञ्चायतको विरुद्ध सक्रिय म २०५१ देखि युद्धको तयारीका गतिविधिमा संलग्न भएँ’, प्रदेश सांसद निर्वाचित पुनमगर भन्छन्, ‘होलेरी चौकी आक्रमणको सर्वेमा म संलग्न थिएँ। फागुन १ गते आक्रमण गर्दै म पनि भूमिगत भएको थिएँ ।’

२०५८ सालमा माओवादीका जिल्ला सेक्रेटरी बनेका उनी २०५९ मा गण्डक पठाइए। गण्डमा जिल्ला इन्चार्ज बनेका उनी २०६१ सालमा पार्टीको लाबाङ बैठकबाट केन्द्रीय समिती सदस्य भए ।

चुनबाङ बैठकबाट बिग्रेड कमिसार बनेका पुनमगर पाल्पा र नवलपरासी इन्चार्ज समेत रहे। शान्ति प्रक्रियापछि उनी रोल्पा इन्चार्ज बने। २०६० यता रोल्पा र रुकुम इन्चार्ज रहेका उनी एकवर्ष अघिदेखि पोलिट ब्यूरो सदस्य छन्।

नेपाल सरकारको द्वन्द्वपीडित लगत संकलन कार्यदलको संयोजक समेत बनिसकेका पुनमगर कार्यकर्ता तहमा सटिक बोल्ने नेतको कोटीमा पर्छन्। जनयुद्ध घोषणा नहुँदै गोरखामा लुकाई राखिएको थ्री नट थ्री हतियार तत्कालीन जिल्ला सभापति झक्कु सुवेदीसँगै रोल्पा भित्र्याउनेमा संलग्न थिए। सात भाइबहिनीसँगै हुर्किएका भए पनि उनका ४ जना परिवारका सदस्य बितिसकेका छन्। दुई बहिनी र उनी एक्ला भाइ हुन्। उनको घरमा पत्नी दिलकुमारी, दुई छोरा र बुहारी छन्।आजको अन्नपुर्णपोस्ट दैनिकले खबर छापेको छ ।

विशेष