राजनीति मुख्य समाचार

गच्छदार उठेको ठाउँमा मेतपेटिकाभित्र २० रुपैयाँ भेटियो, गच्छदार फेरी पछि परे

गच्छदार उठेको ठाउँमा मेतपेटिकाभित्र २० रुपैयाँ भेटियो, गच्छदार फेरी पछि परे

सुनसरी । उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार उठेको सुनसरी–३ को एउटा मतपेटिकाभित्र २० रुपैयाँ भेटिएको छ । मतदाताले मत खसाल्ने क्रममा २० रुपैयाँ पनि खसालेको अनुमान गरिएको छ । सो क्षेत्रमा एमालेका तर्फबाट भगवती चौधरी उम्मेदवार बनेकी छन् ।

यो समाचार तयार पार्दा विजयकुमार गच्छदार फेरी पछि परेका छन् । भगवतीले २९ हजार ३ सय २६ मत पाउँदा गच्छदारले २९ हजार एक सय ७१ मत ल्याएका छन् ।

चौधरी नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुन् । २०२८ साल वैशाख २ गते औरवनी ३, सुनसरीमा जन्मेकी चौधरीका एक छोरा छन् । चौधरीले मानविकी संकायबाट समाजशास्त्र विषयमा स्नातकोत्तर र व्यवस्थापन संकायबाट स्नातक गरेकी छन् ।

सरस्वती मावि औराबनीबाट एसएलसी गरेकी भगवतीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा आइकम र बीकम पढेकी थिइन् । उनले स्नातकोत्तर क्याम्पस विराटनगरबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी हुन् । २०६७ सालमा वन तथा भू संरक्षण राज्य मन्त्री बनेकी भगवती २०६४ सालको चुनावमा मन्त्रीपरिषदबाट मनोनित हुँदै सभासद बनेकी थिइन् । तर २०७० सालको चुनावमा भने तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसँग सुनसरी ३ बाट पराजित बनेकी थिइन् । चौधरीले क्याम्पस पढ्दा थारु विकास समन्वय परिषदको सदस्य र पछि उपाध्यक्ष भएर काम गरेकी थिइन् ।

२०४६ सालको आन्दोलनमा सक्रिय भएर काम गरेकी भगवती थारु विकास समन्वय परिषदको सदस्यदेखि उपाध्यक्षसम्म बनिन् । चौधरीले २०४८ र ०४९ सालमा रेडियो नेपालको जिल्ला सम्वाददाता भएर ६ महिना काम गरेकी थिइन् । २०५१ सालमा ग्रामिण महिला उत्सुकता विकास मञ्च गठन गरी २०५२ सालदेखि विधिवत सञ्चालन गरेकी भगवतीले २०५२ र ०५३ सालमा दुई वर्ष समाजकल्याण परिषदमा सहायक निर्देशक भएर काम गरेकी थिइन् । चौधरी २०५९ सालमा गैरसरकारी संस्था महासंघको केन्द्रीय सदस्य तथा २०६२ र ०६३ मा कोषाध्यक्ष बनेकी थिइन् । गैरसरकारी संस्थामार्फत क्रियाशील चौधरी २०६३ सालमा नेकपा एमाले, सुनसरीको जिल्ला कमिटी सदस्यमा मनोनित भएकी थिइन् ।

 

विशेष