अन्तिम समयमा पनि देउवाको घुसकै चक्कर
काठमाडौं । आम निर्वाचनमा लज्जास्पद हार व्यहोरेर नैतिक संकटमा परेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको कामचलाउ सरकारले जाँदाजाँदै महत्वपूर्ण नियुक्ति तथा बढुवा गर्न मिल्छ कि मिल्दैन ? तेश्रो दल बन्ने अवस्थामा पुगेको सत्ताधारी पार्टीले सम्हालेको अर्थ मन्त्रालय लगायतले जातेजाते मातहतका बीमा संस्थान र कर्मचारी सञ्चय कोषमा रिक्त प्रशासक नियुक्ति गर्ने प्रक्रिया द्रूत गतिमा अघि बढाएको स्रोतको दाबी छ ।
सञ्चय कोष र बीमा संस्थानमा प्रशासकका लागि दरखास्त आह्वान गरी निवेदन दिएका सम्भावित उम्मेदवारको छनौट प्रक्रिया छिटोछिटो गर्न लागिएको थाहा भएको छ । दुवै संस्थाका प्रशासक छनौट समितिका संयोजक अर्थ मन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन् । सञ्चय कोषको प्रशासकका लागि दीपक रौनियार, जीवनकुमार कटुवाल, राजेन्द्र काफ्ले, जितेन्द्र धिताल, लक्ष्मीप्रसाद श्रेष्ठ र सि.आर.पन्तले निवेदन हालेको थाहा भएको छ । पन्त बैंकको कार्यकारी अधिकृत छाडेर कोषको प्रशासकमा आउने तयारीमा लागेका छन् । अरु सबै सञ्चय कोषकै कार्मचारी हुन् ।
लक्ष्मीप्रसाद कोषका पूर्व कर्मचारी हुन् भने अरु पाँचजना हाल पनि त्यहीं कार्यरत छन् । रौनियार विचारधारात्मक रुपले प्रजातान्त्रिक हुन् र हालका मन्त्री निकट मानिन्छन् । उनी प्रशासक बन्न माग बमोजिमको पेटी खर्च गर्न समेत तयार रहेका अर्थ श्रोतले उल्लेख गरेको छ ।
यसैगरी बैंकको कार्यकारी जस्तो आकर्षक पद छाडी प्रशासकको दौडधुपमा रहेका पन्त पनि मन्त्रीलाई जे जसरी रिझाउन तयार छन् । तर, आरजु म्यामको हुकुम बाहेक सिन्को नभाँच्ने मन्त्री ज्ञानेन्द्र कार्कीबाट काम फत्ते हुने कुरा यसै भन्न सकिने अवस्था छैन ।
–साँघु साप्ताहिकबाट
Sher Bahadur Deuba