वाम गठबन्धनको १३ हजार मत छाता चिन्हमा हालेपछि महतोको जित सम्भव भएको खुलासा
धनुषा । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई धनुषा ३ बाट तीन हजार बढी मतले पराजित गरेपछि राजपा नेता राजेन्द्र महतो चर्चामा छन् । सर्लाहीबाट धनुषा गएर त्यहीँका नेतालाई पराजित गरेपछि महतोको चर्चा बढी चलेको हो ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा धनुषा ३ मा कांग्रेसको १९ हजार, राजपा र संघीय समाजवादी फोरमको १७ हजार तथा एमाले र माओवादी केन्द्रको १३ हजार मत थियो । तर, महतोले ३० हजार मत ल्याए । यत्रो मत कसरी सम्भव भयो ? त भन्ने प्रश्नको धेरैले अनुमान लगाइसकेका छन् ।
वाम गठबन्धनको १३ हजार मत छाता चिन्हमा हालेपछि महतोको जित सम्भव भएको हो । एमाले र माओवादी केन्द्रले निर्वाचनको अघिल्लो दिन निर्णय गरेरै महतोलाई जिताउन मत दिन भनिएको थियो । सोहीअनुसार महतोले जितेका हुन् । जुन कुरा महतोले आइतबार खुलासा गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली बालकोटस्थित निवासमा आइतबार पार्टीका शुभेच्छुक, आफन्त, कार्यकर्ताको बधाई खाइरहेका थिए । बाहिर धेरै मानिसको जमघट भए पनि भित्र दुई चारजनासँग गफिँदै थिए । त्यही बेला राजपा नेता राजेन्द्र महतोको ओलीलाई फोन आयो । ओलीले फोन उठाए । उताबाट भनियो, ‘मत हालेर जिताउन सहयोग गरेकोमा धन्यवाद ।’ ओलीले ठीकै छ मात्र भने ।