एमालेद्वारा विज्ञप्ती नै जारी गरी सरकारको विरोध, कर्मचारी प्रशासानलाई समेत दियो चेतावनी
काठमाडौं । नयाँ निर्वाचनबाट मुलुककै सबैभन्दा ठूलो दल बन्दै गरेको एमालेले वर्तमान कामचलाउ सरकारले गरेका पछिल्ला नियुक्ति र निर्णयहरुको निरन्तरता कुनै पनि हालतमा हुन नदिने प्रष्ट पारेको छ । उसले विभिन्न संस्थानमा राजनीतिक नियुक्ति गर्न थालेको भन्दै आपत्तिसमेत जनाएको छ । एमालेले सोमबार विज्ञप्ती नै जारी गरेर आफ्नो धारणा राखेको हो ।
एमाले महासचिव ईश्वर पोखरेलले सोमवार विज्ञप्ति जारी गरी काम चलाउ हैसियतमा रहेको शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको र गर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । प्रदेश प्रमुख र त्यससँग सम्बन्धित विभिन्न निर्णयहरु गर्न लागेको सूचनाप्रति समेत एमालेले ध्यानकर्षण भएको जनाएको हो । उसले मनपरी निर्णय गर्नबाट कर्मचारी नेतृत्वलाई समेत सचेत गराएको छ ।
महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौं ।’