समानुपातिकबाट संसद पस्न खोज्ने पुरुषहरुलाई सकस, ८० प्रतिशत महिला पठाउनु पर्ने बाध्यता
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकोले दलहरुले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनु पर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार संसदमा ३३ प्रतिशत महिला सदस्य अनिवार्य छ । दलहरुले प्रत्यक्षमा उम्मेदवार बनाउँदा नै थोरै मात्र महिलालाई समेटेका थिए । विजयी भएर आउने महिला सांसदहरुको संख्या झनै न्यून छ ।
प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकाबाट ११० गरी प्रतिनिधिसभामा २७५ सदस्य हुनेछन् । त्यस्तै गरी राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ । राष्ट्रिय सभाका लागि ७ वटा प्रदेशबाट ८–८ जनाको दरले निर्वाचित हुनेछन् भने राष्ट्रपतिद्वारा ३ सदस्य मनोनित गर्ने व्यवस्था छ । संविधानअनुसार अब बन्ने संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल ३ सय ३४ सिटको ३३ प्रतिशत अर्थात ११० सदस्य महिला हुनु अनिवार्य छ ।
–कान्तिपुर दैनिकबाट