राजनीति

यी हुन् प्रत्यक्ष तर्फ निर्वाचित भएका पाँच महिला

यी हुन् प्रत्यक्ष तर्फ निर्वाचित भएका पाँच महिला

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २० मध्ये पाँच महिला विजयी भएका छन् । चार महिला उम्मेदवारको अझै नतिजा आइसकेको छैन । माओवादी केन्द्रका तीन, एमाले र राष्ट्रिय जनमोर्चाबाट एक–एकजनाले प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गरेका हुन् । माओवादीबाट कञ्चनपुर–१ मा विना मगर, ललितपुर–३ मा पम्फा भुसाल र रुकुम पूर्वमा कमला रोका विजयी भएका छन् । त्यस्तै, झापा–२ बाट एमालेकी पवित्रा निरौला खरेल र प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सांसद निर्वाचित भएका छन् ।

कञ्चनपुर–१ मा बिनाले कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई, ललितपुर–३ मा भुसालले कांग्रेसका मदन अमात्यलाई, रुकुम पूर्वमा रोकाले कांग्रेसकै हरिशंकर घर्तीमगरलाई पराजित गरे । झापा–२ मा खरेलले कांग्रेसका उद्धव थापा र प्युठानबाट पौडेलले कांग्रेसका डा। गोविन्दराज पोखरेललाई पराजित गरे ।

संविधानले ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था गरे पनि दलहरूले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निकै थोरै उम्मेदवार बनाएका थिए । १६५ सिटमा कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्रले चार, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एकजना महिला उम्मेदवार बनाएका थिए । राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा र संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा महिला उम्मेदवार नै बनाएनन् ।

कांग्रेसबाट उम्मेदवार बनेका सबै पराजित

कांग्रेसले प्रतिनिधिसभामा उम्मेदवार बनाएका सबै नौ महिला नेतृ पराजित भएका छन् । कांग्रेसले खोटाङबाट सरस्वती बजिमय, तेह्रथुमबाट सीता गुरुङ, बाग्लुङ १ बाट चम्पादेवी खड्का, महोत्तरी २ बाट किरण यादव, काठमाडौं ३ बाट अम्बिका बस्नेत, मकवानपुर २ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, दाङ १ बाट सुशीला चौधरी र कैलाली ५ बाट डा।आरजु राणा देउवालाई उम्मेदवार बनाएको थियो । कैलाली १ की कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने तेब्बरभन्दा धेरै मतले पछाडि रहेर प्रतिष्पर्धा गरिरहेकी छन् ।

एमालेले उम्मेदवार बनाएका सुनसरी ३ की भगवती चौधरी, स्याङ्जा २ की पद्मा अर्याल र कैलाली १ की मदनकुमारी गरिमा शाहको नतिजा आइसकेको छैन । अर्याल र चौधरीले झिनो मतले अग्रता लिइरहेका छन् । शाह भने तेब्बर मतले पछाडि परेकी छन् । उदयपुर १ बाट एमाले उम्मेदवार बनेकी मञ्जु चौधरी पराजित भइन् ।

माओवादीबाट पर्सा ४ की उम्मेदवार उर्मिला अर्याल पराजित भइन् । भक्तपुर २ बाट उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले पनि पराजय बेहोरेकी छन् ।

नगन्य उम्मेदवार

प्रत्यक्षतर्पmको १६५ सिटमा कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्रले चार, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एकजना महिला उम्मेदवार बनाएका थिए ।

प्रतिनिधिसभामा तीन दलित निर्वाचित

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तीन दलित उम्मेदवार निर्वाचित भएका छन् । माओवादीबाट एक र एमालेबाट दुई दलित उम्मेदवार विजयी भएका हुन् । माओवादीबाट बाँके–१ मा महेश्वर गहतराज कांग्रेसका माधवराम खत्रीलाई पराजित गर्दै विजयी भए । गहतराजले ३१ हजार १७३ मत ल्याए भने खत्रीले २८ हजार २१७ मत पाए ।

रूपन्देही–१ बाट एमालेका छविलाल विश्वकर्मा र कास्की–३ बाट जगत विश्वकर्मा विजयी भए । छबिलालले ३४ हजार ७५२ र उनका प्रतिस्पर्धी कांग्रेसका अव्दुल रजाक गद्दीले २६ हजार ८८५ मत ल्याए । कास्की १ मा जगतले ३२ हजार ६९० र उनका प्रतिस्पर्धी कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत पाए ।
नयाँ पत्रिका

विशेष