राजनीति

पति वियोगमा रहेकी बीना बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद

पति वियोगमा रहेकी बीना बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद

कञ्चनपुर। कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बीनामात्रै चुनावमा भारी मतको अन्तरका साथ विजयी भइन् ।

दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा उनका श्रीमान् प्रकाश दाहालको असामयिक निधन हुँदा राम्ररी प्रचारप्रसारको कार्य गर्न नपाउँदासमेत जनताको साथ र समर्थन पाएर विजयी भइन् ।

संविधानसभाको निर्वाचनमा झिनो मतको अन्तरले पराजित हुँदाको बदला मगरले यस निर्वाचनमा विजयी भएर लिएकी छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार भई ३८ हजार ४६८ मत ल्याई मगर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका छन् । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरिन् ।विजयी उम्मेदवार मगरले जन्मभूमिको सेवामा सधैँ समर्पित हुने बताइन् । विजयी भएपछि प्रतिक्रया दिँदै उनले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष हेल्प डेस्क स्थापना गर्ने घोषणा गरिन् ।

‘निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्न वाम गठबन्धनका उम्मेदवार एकमत रहेका छौँ,’ उनले भनिन्, ‘यसमा सबैको साथ र सहयोगको आवश्यकता पर्छ ।’

स्थानीय तह, प्रदेश र केन्द्र गरी तीनवटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा आफू दृढ रहेको उल्लेख गर्दै उनले संसद् र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने बताइन् ।

मानसिकरुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला मतदाताबाट पाएको साथ जीवनभर नबिर्सिने उनले उल्लेख गरिन् ।

विसं २०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिएकी मगर यस क्षेत्रको समाज, संस्कृति, परम्परा, जातजाति, वेषभूषा र चाडपर्वसँग रमाउँदै हुर्किएकी हुन् । पुनर्वासको अरनिको बस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन शुरु गरेकी उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरेकी छन् ।

राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर मगरले विसं २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा माओवादीको सशस्त्र आन्दोलनमा सक्रिय सहभागिता जनाएकी थिइन् ।

जनयुद्धको शुरुवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन शुरु गरिन् । आन्दोलनमा सहभागिता जनाउँदै गर्दा विसं २०५६ मा मगरले महिलाको हकअधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० कञ्चनपुरको अध्यक्षको भूमिका निर्वाह गरिन् ।

राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौँ प्रस्थान गरिन् । काठमाडौँमा उनलाई राजधानीकोे वातावरण, रहनसहन, समाज र राजनीतिक शासन व्यवस्थाबारे नजिकबाट अध्ययन गर्ने अवसर मिल्यो । राजधानी काठमाडौँ र जन्मभूमि पुनर्वासलगायत आसपासका क्षेत्रको विकासको अवस्था तुलना गर्दा राज्यले गरेको विभेद प्रत्यक्ष देख्न पाइन् ।

गाउँगाउँमा विकास पुर्‍याउन र एकात्मक शासन सत्ताको अन्त्यका लागि संघर्ष नै मुख्य बाटो देखेर मगरले सशस्त्र संघर्षको यात्रालाई उनले अगाडि बढाइन् । काठमाडौँमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आबद्ध भएर भित्रिरूपमा नेकपा माओवादी पार्टीको पूर्णकालीन सदस्यको रूपमा उनले कार्य गरिन् ।

विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाका लागि संघर्ष गरिरहँदा उनलाई विसं २०६० मा अखिल ९क्रान्तिकारी० काठमाडौँ जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो ।

राज्यको व्यापक धरपकड र दमनबीच मगर विसं २०६० मा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परिन् । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उनले २७ महिना बेपत्ताको अवस्थामा रहनुपर्‍यो ।

जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा मगरले २७ महिनासम्म पाशविक यातना भोग्नुपर्‍यो । ‘सेनाको हिरासतमा रहँदा करेन्ट लगाउने, पानीमा डुबाउने, पाइपले पिट्नेलगायतका अमानवीय यातना दिइने गरिन्थ्यो,’ मगरले भनिन् ।

मुलुकमा २०६२र६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गरिएपछि त्यसपछि अदालतले गैरन्यायिक हिरासतबाट रिहा गर्न आदेश दिएको उनले बताइन् ।

सम्मानित सर्वोच्च अदालतको रिहाइको आदेशलाई बेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थाको संघर्ष र सहयोगले निस्तेज पारेर रिहा हुन सफल भएको उनले बताइन् ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार भएकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन् । प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उनले हिम्मत हारिनन् । शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा उनले अहिले विजय प्राप्त गरेकी छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बन्न पुगिन् ।

विशेष