राजनीति

क्रिस्चियनहरुप्रति प्रचण्डको सहानुभूति, मौका मिले ‘क्रिस्मस डे’ मनाउन जाने

क्रिस्चियनहरुप्रति प्रचण्डको सहानुभूति, मौका मिले ‘क्रिस्मस डे’ मनाउन जाने

काठमाडौं । चितवनमा चर्च बनाउनको लागि भरतपुर महानगरपालिकाले जग्गाको व्यवस्था गर्नुपर्ने बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई क्रिस्चियनहरुप्रति बढि सहानुभूति भएको बताएका छन् । राज्यले धेरै समयसम्म क्रिस्चियन समुदायलाई अन्याय गरेको हुनाले उनले आफूलाई क्रिस्चियनप्रति बढि लगाव भएको जनाएका हुन् ।

उनले राज्यलाई धर्मबाट अलग गराउनुपर्छ र राज्यको निश्चित धर्म भयो भने जनताको पनि विभिन्न धार्मिक आस्थामाथि अन्याय हुने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै उनले राज्यले कुनै एउटा धर्मलाई काखी च्याप्दा अन्य धर्म पाखा पर्ने स्थिती आउने हुनाले राज्य भनेको सबै जनताको आस्था, विचार र धर्मको साझा अभिभावकको रुपमा प्रस्तुत हुनुपर्ने बताए । आधुनिक समाजमा लोकतन्त्रको मान्यता र विकाससँगै राज्य धर्म निरपेक्ष हुनुपर्छ भनेर विकसित समाजबाट यो अवधारणा आएकोसमेत उनले जनाए ।

यसबारेमा थप्दै उनले भने, ‘हामी मार्कस्वादीहरु आफूलाई द्वन्द्वात्मक भौतिकबादी भन्छौं । यशुले पनि मानव जातीको सेवा र स्वतन्त्रका लागि विद्रोह नै गर्नुभएको थियो । हामी कम्युनिष्टहरुले पनि शासकहरुको अत्याचारको विरुद्ध विद्रोह गर्ने पर्यौ ।’

उनले आफूहरुकै जनयुद्धका कारण नेपाल धर्म निरपेक्ष मुलुक भएको दाबी गर्दै अहिले मुस्लिम र क्रिस्चियन समुदाय राप्रपा र कांग्रेस पार्टीमा गएकोमा व्यंग्य कसे । उनले भने, ‘ हामीले धर्म निरपेक्षताको लागि कति लड्यौं तर अहिले तिनै क्रिस्चियन राप्रपा र कांग्रेस भन्दै हिँड्छन् । मुस्लिम समुदाय राप्रपा बन्न खोज्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । हिजोको दिनमा भोट नचाहिँदा पनि धर्म निरपेक्षताको लागि ज्यान फालेर लडेका हौं हामी । केही समयअघिमात्र सुकुम्बासीको मुद्दा उठाएको थिएँ । उनीहरुलाई गाह्रो पर्यो भनेर आफ्नै घर अगाडि गौचरनमा पाल बनाएर राखें तर, तिनै सुकुम्बासी अहिले त पञ्चे भएछन् । राजा चाहिन्छ भन्दै हिँडेछन् ।’

शान्ति सम्झौता पछि अन्य धर्महरुकोमा भन्दा पनि पहिला क्रिस्चियनकोमा आफू पुगेको बताउँदै उनले क्रिस्चियनकोमा गएर खान र बस्न कुनै अप्ठेरो नहुने भन्दै मौका मिल्यो भने ‘क्रिस्मस डे’ मनाउन आउने आश्वासनसमेत दिए ।

 

Puspakamal Dahal

विशेष