राजनीति

सिटौलामाथि अपजसको भारी

सिटौलामाथि अपजसको भारी

झापा । झापाबाट उदाएर कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको निर्वाचन बिर्सनलायक रह्यो। उनी आफैँ त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा आइलागेको छ। त्यसैले अन्य उम्मेदवार पार्टीको हारपछि निराश भएका कार्यकर्तालाई भेट्दै, मतदातालाई आभार प्रकट गर्दै हिँडिरहँदा सिटौला भने काठमाडौं गइसकेका छन्।

उनको अनुपस्थितिमै सही, जिल्लाका नेताकार्यकर्ता भने उनीविरुद्ध सार्वजनिक रुपमै आक्रोश पोख्दै हिँडिरहेको खबर आजको नागरिक दैनिकमा छ । उनको आफ्नै क्षेत्रका कार्यकर्ता पनि सिटौला विपक्षी दलका कार्यकर्ताको उक्साहटमा लागेर फसेको बताइरहेका छन्। ‘माओवादी र एमालेका नेताहरु तपाईं कुनै हालतमा चुनाव लड्नुपर्छ हामी जिताउँछौं भन्दै उहाँलाई दबाब दिँदारहेछन्’, भद्रपुर कांग्रेसका एक पदाधिकारीले भने, ‘अनि आफ्नै केही कार्यकर्ता पनि सिटौला चुनाव लडे खर्चको जोहो हुने लोभले उक्साउँदा रहेछन्।

परिस्थितिको आंकलनमा उहाँ पुरै चुक्दा समस्या आयो।’ त्यसो त सिटौलाप्रतिको आक्रोश झापा १ मा सबैभन्दा धेरै छ। विश्वप्रकाश शर्माको पराजयमा सिटौलाकै भूमिका मुख्य रहेको भन्दै कार्यकर्ता पंक्ति आक्रोश व्यक्त गरिरहेको छ। ‘झापामा कांग्रेस पराजयको एउटा मुख्य कारण सिटौलाको दम्भ नै हो’, झापा क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सहसचिव रुपसागर अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका छन्, ‘आफू समानुपातिकमा बसेर राप्रपासँग तालमेल गरेको भए नतिजा अर्कै आउनसक्थ्यो।’ सिटौलालाई अपजस लगाउनेमा कार्यकर्ता मात्रै छैनन्, केही उम्मेदवारले पनि उनैलाई अपजसको भारी बोकाइरहेका छन्। मुख्यतया सिटौलाको आफ्नै क्षेत्र झापा ३ र युवा नेता विश्वप्रकाश शर्माको क्षेत्र झापा १ लाई कांग्रेसले आफ्नो सम्भावित जित हुने क्षेत्रमा राखेको थियो।

झापा १ र ३ नजिते मेची अञ्चल निल हुने भविष्यवाणी नेताहरुको थियो। भयो पनि त्यस्तै। यसो हुनुका पछि केही निश्चित कारण छन्, जसलाई सिटौला र उनका समर्थकले सोझै नकार्न सकिरहेका छैनन्। सिटौलाले निर्वाचन क्षेत्र निर्धारणको बेलैदेखि गरेको गल्तीले झापामा जित सम्भव नभएको कांग्रेस नेताहरुको भनाइ छ। ‘यसपटक झापामा क्षेत्र नम्बर १ र ३ हामीले जितको आशा राखेको क्षेत्र थिए’, प्रदेशसभामा पराजित एक कांग्रेस उम्मेदवारले भने, ‘तर क्षेत्र निर्धारणका बेलैदेखि सिटौलाले चलखेल गरे। चुनावको मुखमा आइपुग्दा झनै बढी दम्भ देखाएर बर्बादै बनाए।’ क्षेत्र निर्धारणका क्रममा सिटौलाकै जोडबलमा उनको घर भएको भद्रपुरको वडा नम्बर १० र ९ झापा १ मा पारिएको चर्चा त्यसबेलै व्यापक भएको थियो।

स्थानीय चुनावमा कांग्रेस यी दुवै वडामा एक हजारभन्दा ठूलो मतान्तरले पछि परेको थियो। ‘हरेक राजनीतिज्ञ आफ्नो वडा आफ्नै क्षेत्रमा परोस् भन्ने चाहन्छन्’, ती उम्मेदवारले भने, ‘तर उहाँले कांग्रेस कमजोर भएका वडा आफ्नो क्षेत्रमा राख्न नचाहेर एकातिर हाल्न लगाउनुभयो।’ जिल्लाका अधिकांश कांग्रेस उम्मेदवार स्थानीय चुनावमा देखिएको मतान्तरकै हाराहारी र केही त्योभन्दा बढी अन्तरमा पराजित हुँदा शर्माले भने मतान्तर घटाएका थिए। उनले झन्डै नौ हजार मत कांग्रेसबाहिरबाट ल्याएको समानुपातिक नतिजाले देखाउँछ।

विशेष