राजनीति भिडियो

बिग्रेको खुवा र एमाले–माओवादी एकता उस्तैः माओवादी नेता रायमाझी (भिडियो सहित)

बिग्रेको खुवा र एमाले–माओवादी एकता उस्तैः माओवादी नेता रायमाझी (भिडियो सहित)

खुवा अर्थात दुधबाट बनाइएको मिठाई । असाध्यै मिठो स्वाद । सुन्दै मुख रसाउने । जब त्यही मिठाइ अर्थात कुराउनी कुहिन्छ, खान त परैको कुरा, नजिक पर्नसमेत सकिन्न । त्यसैले केही राम्रो ठानिएको कुरा बिग्रियो भने बिग्रेको खुवा भन्ने उदाहरण दिइन्छ ।

माओवादी युवा नेता जागृत रायमाझी अहिले यही उपमाको प्रयोग एमाले–माओवादी एकताको सन्दर्भमा गरिरहेका छन् । उनले नेपाल आजसँगको कुराकानीमा घोषणा गरेका छन्–पार्टी एकता भएपनि नभएपनि अब माओवादीमा बसिन्न । आफ्नो बर्हिगमनको औचित्य पुष्टि गर्न उनले गरेका तर्क शक्तिशाली सुनिन्छन् ।

रायमाझी वाकपटु छन् । साहित्यिक चेतनाले युक्त उनको भाषा र तर्क मिठासयुक्त छन् । झुस्स दाह्री पालेका र झट्ट हेदा चे ग्वेभराको आकृतिको मुहार भएका जागृत माओवादी युवा पीढिँका आशलाग्दा व्यक्ति हुन् । २०४८ सालमा रुदाने अर्थात रुपचन्द्र विष्टसँग प्रभावित भइ राजनीतिमा लागेका रायमाझी माओवादी नेता नारायणकाजी श्रेष्ठका निकट हुन् । माओवादीभित्र सम्भाबना बोकेका पात्रका रुपमा हेरिएका रायमाझी आफ्नै गुरु श्रेष्ठको समेत सक्रियतामा हुन लागेको माओवादी एमाले एकतालाई लिएर किन ‘फायर’ छन् ? उनलाई चिन्ने धेरैको प्रश्न छ ।

यही प्रश्न नेपाल आजले रायमाझीसँग राखेको थियो ।

उत्तरमा उनले भने–माओवादी हिजो खुवा थियो, आर्दश थियो । अब यो बिग्रेको खुवा भयो । नारायणकाजी हिजो गुरु र नेता थिए अब नेता भइरहन सकेनन् ।

रायमाझीले दृष्टान्त दिँदै भने–एमाले कसरी गैर्ह माक्र्सवादी शक्ति हो भनेर माक्र्सवादी ढंगले सबैभन्दा राम्रो चिरफार गर्दै हिजो श्रेष्ठले किताब नै प्रकाशित गर्नुभयो ।

आज उहाँ नै एकताका लागि लाग्नुभयो । यसर्थ विचलनको पछाडि लागिन्न ।

‘माओवादी र एमाले कम्युनिष्ट आचरण र माक्र्सवादी सिद्धान्त मिलेर एकीकृत हुन लागेका होइनन् ।’ रायमाझीले तर्क पेश गरे ‘यो पद, पैशा र ठेकेदारी पेशासहितका प्रवृत्तिको एकता हो ।’ माओवादी र एमालेका बीचमा हुने एकताले जनयुद्धको अपमान गर्ने उनको तर्क छ । हिजो जनयुद्धले जे बिषयको उठान गरेको हो सो बिषयलाई एकताले खारेज गर्ने रायमाझीले ठोकुवा गरे ।

सर्बहारा बर्गको अधिनायकत्व, बल प्रयोगको सिद्धान्त, उत्पीडित बर्गप्रतिको पक्षधरता, बर्ग संघर्षलगायतका मूलभूत चरित्रबाट च्युत भइ एकता गर्न लागिएको रायमाझीको तर्क छ ।

रायमाझीका अनुसार माओवादी र एमालेका बीचमा आर्थिक र साँस्कृतिक आचरण मिलेकैले एकता सम्भब भएको हो । जसरी पनि पैसा कमाउने र जुनसुकै उपायले पनि पदमा पुग्ने कुसंस्कृति नै एकताको आधार भएको रायमाझी बताउँछन् ।

अबको बिकल्प

जागृत रायमाझीका अनुसार माओवादी–एमाले माक्र्सवादी बाटोबाट च्युत भएपनि माक्र्सवादको औचित्य च्युत भएको छैन । माक्र्सवादलाई प्रबिधिले युक्त आधुनिक समाज सापेक्षरुपमा प्रयोग र विकास गर्ने गरी अबको बाटो तय हुने उनको भनाइ छ । माक्र्सवादको विकल्प नभएजस्तै माक्र्सवादको सापेक्षिकरण पनि अनिवार्य रहेको बताउने रायमाझी भन्छन्, ‘सूचना र प्रविधिको आधुनिक युगमा क्रान्ति सम्पन्न गर्न दशकौँ कुर्नै पर्दैन । क्रान्ति सम्भब छ । मात्र सही बाटो र बिचारको खाँचो छ ।’ उनी अबको दिनमा सोही बाटो पहिल्याउन तल्लिन हुने बताउँछन् । उनीसँगको भिडियो अन्तरवार्ता तलको लिंक क्लिक गरी हेर्न सक्नुहुन्छ ।

विशेष