राजनीति

यी हुन् माओवादीबाट सांसद बन्ने नेता, ल्यारकाल लामा फेरि सांसद बन्ने

यी हुन् माओवादीबाट सांसद बन्ने नेता, ल्यारकाल लामा फेरि सांसद बन्ने

काठमाडौं । प्रत्यक्षतर्फ ३६ सिट जितेर दोस्रो ठूलो दल बनेको माओवादी केन्द्रले समानुपातिकतर्फ भने तेस्रो बढी मत पाएको छ। यसैकारण ऊ समग्रमा तेस्रो ठूलो दल बन्न पुगेको छ।

प्रतिनिधिसभाका लागि देशभरबाट समानुपातिकतर्फ कुल १३ लाख ३ हजार ७ सय २१ मत ल्याएको माओवादीले समानुपातिक तर्फबाट १७ सिट पाउनेछ। यद्यपि दलहरुले पाउने समानुपातिक सिट संख्याबारे आयोगले अन्तिम टुंगो लगाइसकेको छैन।

प्रत्यक्ष र समानुपातिक तर्फबाट कुल ५३ सिट जितेको माओवादीले संसदमा कम्तीमा १५ जना महिला पठाउनुपर्ने बाध्यता छ । उसले समानुपातिक सूचीमा रहेका बढीमा तीन जना पुरुषलाई मात्रै सांसद बनाउन सक्नेछ ।

प्रत्यक्षतर्फको चुनावमा उसका तीन महिला उम्मेदवारले मात्रै चुनाव जितेका कारण समानुपातिक तर्फबाट अधिकांश महिला प्रतिनिधित्व गराएर संविधानले कल्पना गरेको एक तिहाइ महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्नेछ।

महिलाको ठूलो संख्या पठाउनुपर्ने भएकाले यो दलबाट समानुपातिक सूचीमा रहेका पुरुष उम्मेदवारबीच सांसद बन्न तीव्र प्रतिस्पर्धा र चलखेल हुने अनुमान गर्न सकिन्छ।

उसले तीन फरक पार्टीसँग गठबन्धन गरेर एउटै चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर प्रतिस्पर्धा गरेको थियो।

समानुपातिकका चर्चित पुरुष अनुहार

हितराज पाण्डे

उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री भएका थिए। उनले नारायणकाजी श्रेष्ठका लागि गोरखा(२ छाडेर समानुपातिकतर्फ बसेका थिए। स्थानीय तहको बाँडफाटको काम अन्तिममा पुर्याएका उनले कमल थापाका लागि मन्त्री पद छाडेका थिए।

मणिचन्द्र थापा

 युद्धकालमै माओवादीबाट अलग भएका थापा लामो समयसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव भए। विभिन्न समूहबाट माओवादी प्रवेश गरेर माओवादी केन्द्र बनाइएको समयमा उनी पनि माओवादी फर्किएका थिए।

लोकमणि ढकाल

उनी जनजागरण पार्टीबाट अघिल्लो संसदमा प्रतिनिधित्व गर्दथे। यसपटको चुनावमा उनी माओवादीका समानुपातिक सूचीमा छन्।

प्रेमबहादुर सिंह 

समाजवादी जनता पार्टीका अध्यक्ष रहेका सिंह माओवादीसँगको गठबन्धनमा गोलाकारभित्रको हँसिया हथौडामा समानुपातिक तर्फबाट प्रतिस्पर्धा गरेका छन्।

नारायणप्रसाद दाहाल

 प्रचण्डका आफन्त दाहाल प्रचण्डका प्रशासनिक सल्लाहकार हुन्।

ल्ह्यारक्याल लामा 

विवादित छविका लामा झलनाथ खनाल प्रधानमन्त्री हुँदा छोटो समयका लागि अर्थराज्यमन्त्री भएका थिए। पछि माओवादी प्रवेश गरेपछि दोस्रो संविधानसभामा सभासद भए। लकरमा गोली भेटिएपछि उनी जिल्ला प्रशासन कार्यालयबाट हातहतियार मुद्दामा दोषी ठहर भई २० हजार जरीवानामा परेका थिए। उनी पनि माओवादीको समानुपातिक सूचीमा छन्।

मुक्ति प्रधान

 बाबुराम भट्टराई प्रधानमन्त्री छँदा महान्याधिवक्ता भएका थिए उनी। पत्रकार डेकेन्द्र थापा हत्याको अभियोगमा जिल्ला अदालत दैलेखमा मुद्दा नचलाउन पत्राचार गरेपछि उनी विवादित भएका थिए।

विशेष