राजनीति

विकास र समृद्धिका लागि बनेको वाम गठबन्धनलाई शंका नगर्नुस् : अध्यक्ष दाहाल

विकास र समृद्धिका लागि बनेको वाम गठबन्धनलाई शंका नगर्नुस् : अध्यक्ष दाहाल

रत्ननगर, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि वाम गठबन्धन गरिएकाले शंका नगर्न आग्रह गरेका छन् । 

नेपाली काँग्रेस लगायत दलले गठबन्धनबारे अनर्गल प्रचार गरेको उल्लेख गर्दै चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष दाहालले बलियो गठबन्धन गरेर अघि बढ्न काँग्रेसलाई समेत सुझाव दिए । 

भरतपुर महानगरपालिका–९ दराई टोलमा आज अपराह्न भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले वाम गठबन्धन एउटै कम्युनिष्ट केन्द्र बनाउने र विकास गर्ने गरी अघि बढेका प्रष्ट पारे । दुई वटा शक्तिका बीचमा प्रतिष्पर्धा हुनु देशका लागि फाइदाजनक हुने अध्यक्ष दाहालको भनाइ थियो । 

अहिलेको वाम एकता देशको विकास, स्थायित्व र राष्ट्रको समृद्धिका लागि भएको भन्दै उनले त्यसमा सबैको साथ पाउने आशा व्यक्त गरे । अहिलेको अवस्थामा मतदाता सचेत भैसकेको र किनवेचको राजनीतिमा कोही पनि नफस्ने जिकिर गर्दै अध्यक्ष दाहालले कम्युनिष्ट सरकारकै पालामा वृद्धभत्ताको शुरुआत गरिएजस्तै अन्य कल्याणकारी काममा पनि वाम गठबन्धन लागिपर्ने प्रतिबद्धता जनाए । 

सो क्रममा राप्रपा प्रजातान्त्रिक तथा नेपाली काँग्रेसलगायत विभिन्न दल परित्याग गरी आएका करिब २०० जनालाई उनले पार्टीमा प्रवेश गराएका थिए । आजै उनले भरतपुरमा वाम गठबन्धनको दलित प्रतिनिधिको छलफल कार्यक्रममा सहभागी हुँदै हरेक क्षेत्रबाट गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्नेमा जोड दिएका थिए । 

bam gathabandan

विशेष