कला साहित्य

कोलकातामा नाइलनको सारी

कोलकातामा नाइलनको सारी

काठमाडाै‌ । कोलकाताको रवीन्द्र भारती विश्वविद्यालयमा शास्त्रीय गायनमा मास्टर्स गर्दै गरेकी सुजता बर्माको पछिल्लो चिनारी अर्कै छ । नाइलनको सारी । यी २३ वर्षीयाको दुनियाँ अर्कै थियो, संगीत साधना अर्कै थियो । १०–१२ वर्षकै उमेरदेखि शास्त्रीय गायन, वादन र रागरागिनीको अभ्यासमा तल्लीन रहेकी सुजता उनी १६ वर्षको छँदा रेडियो नेपालको आधुनिक गीत गायनमा प्रथम भएकी थिइन् । त्यो बेला उनले हजुरबा उमेरका गायक फत्तेमानसँग युगल गीत रेकर्ड गराएकी थिइन् । कृष्ण केसीको शब्द र हरि लम्सालको संगीतमा गाएको गीत थियो

बिस्तारै बोल,
भित्ताको पनि कान हुन्छ रे
हावाले उडाउँछ आकाशमा पु्याउँछ
अनि सारा संसारले सुन्छ रे

नभन्दै संसारले सुने जस्तै भएको छ अहिले । चुपचाप क्लासिकल दुनियाँको साधक बनिरहेकै बेला छक्कापञ्जा २ को हिलो लाग्ला नाइलनको साडीमा गाएपछि संगीतका पारखीहरुले सुजतालाई सहरमा खोजीरहेका छन्, उनी भने पश्चिम बगांलको कोलकातामा शास्त्रीय गायनकी विद्यार्थी भएर बसिरहेकी छिन् ।

सुजताले सुरुवाती दिनहरुमा क्लासिकल बेसका पिताजी विनय बर्माबाट घरमै रागरागिनी सिक्न थालेकी थिइन् । त्यसपछि रमेश पोखरेल, प्रभुराज ढकाल, बिष्णु आचार्य, परशुराम पौडेलबाट पनि शास्त्रीय गायनको ज्ञान लिइन। यसैगरी, वादनतर्फ सन्तोष बर्मा (तबला), प्रविन बुढापिर्थी (पियानो), राहुल सायमी (गितार), विनय बर्मा (हारमुनियम) उनका गुरु हुन् ।

अहिले रवीन्द्र भारती विश्विद्यालयमा प्रखर शास्त्रीय गुरु सुप्रियादेव दत्तसँग सुजाता भोकल सिक्दैछिन् । काठमाडौं छँदा किराँतेश्वर संगीत आश्रम, राम मन्दिर (बत्तिसपुतली) नेपाल म्युजिक स्कुल, यलमाया केन्द्र, कपन संगीत सरोवर, सृजना कलेज अफ फाइन आर्ट्स, नमुना घर आदिमा आफ्नो क्लासिकल स्वर र वादन सुनाउँदै हिँड्ने अन्तर्मुखी स्वभावकी सुजाता नाइलनको साडी पछि एकाएक सबैतिर छाइन् ।

रागरागिनी आफैमा एउटा कठिन विधा हो, यो विधा पढ्न अथवा बुझ्न एक जुनीले मात्रै पुग्दैन जस्तो लाग्छ, सुजाताले भनिन् । अझ पढिसकेको कुरालाई व्यवहारमा देखाउन त जुनीजुनी चाहिन्छ होला । वादनमा हार्मोनियम, तबला, मादल, गितार, पियानोकी पारंगत उनी आफू संगीतको पुजारी भएकाले गीत जेजस्तो शैलीको भएपनि संगीतकै लागि नाइनलको साडी उमंगका साथ गाएको अनुभव सुनाउँछिन् । यो गीत गाउन गायक अलमोडा उप्रेतीले प्रस्ताव गरेको उनले सुनाइन् । सुजाताले यसअघि भजन गायनको भक्ति दर्शन र आधुनिक गायनको विनय एल्बम ल्याएकी थिइन् ।

नाइलनको साडी चर्चित भएपछि म काठमाडौ बस्नै पाइँन, पढाइका लागि कोलकाता आइहालें, सुजाता भन्छिन् । यसकारण अरु गीत संगीत र अफरको माहोलबारे थाहा भएन । उनले यो वर्ष मास्टर्स पूरा गरेर संगीत विद्यामै पीएचडी रिसर्च थाल्ने चाहाना गरेकी रहिछन् उनलाई कतिपय साथीभाइ र गुरुजनले समेत कोलकातामा नाइलन साडी सिङ्गर भनेर चिन्न थालेका रहेछन् । कुनै साथीभाइको कार्यक्रम वा सानोतिनो जमघटमा पनि गाउन लगाउने रहेछन् । नाइलनको साडी । म अन्तध्र्यानीझैं बनेर शास्त्रीय संगीतको दुनियाँमा हराइरहेकी थिँए, सुजाताले थपिन् । एकाएक एउटै फिल्मी गीतले चिनिएँ, खुसी लागेको छ । तर, आफ्नो संगीत साधानाको बाटोमा निरन्तर रहनेछु । –कान्तिपुर दैनिकबाट

 

 

विशेष