राजनीति

कालिकोट घटनाको सत्यतथ्य छानबिन गर्न मन्त्री शाहीको माग

कालिकोट घटनाको सत्यतथ्य छानबिन गर्न मन्त्री शाहीको माग

काठमाडौं । विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । कालिकोटको सदरमुकाममा शुक्रबार प्रहरी र म्यादी प्रहरीबीच सेवासुविधाको विषय कुरा नमिलेपछि भएको छडपमा परी १ म्यादी प्रहरीको मृत्यु हुनुका साथै आधा दर्जन बढी घाइते भएका थिए ।

मन्त्री शाहीले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । साथै उनले मृतकको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको व्यवस्था गर्नसमेत सरकारसमक्ष माग गरेका छन् ।

‘यही पुस ७ गतेका दिन कालिकोट जिल्ला सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शाहीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना घट्नै नपर्ने घटना हो । यसको कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गर्दछु ।’ मन्त्री शाहीले दुःखद् घटना भइसकेकाले अब संयमित भएर अघि बढ्नसमेत सबैलाई आग्रह गरेका छन् ।

आफ्नो तलब कटाइएको भन्दै कालिकोटका म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि शुक्रबार त्यहाँ छडप भएको थियो । छडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि शान्नी त्रिवेणी गाउँपालिका–५ तिकुवाका १९ वर्षीय म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो भने आधा दर्जन घाइते भएका छन् ।

विशेष