राजनीति

वाम एकता कसैले रोक्न सक्दैनः ज्ञवाली

वाम एकता कसैले रोक्न सक्दैनः ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सचिव ज्ञवालीले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्ने भन्दै चाँडै नै एकता हुने दाबी गरे । एमाले अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्नेे विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पारे । उनले पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरेर गरिने बताए ।

‘एमाले माओवादी र माओवादी एमालेमा विलय हुने होइन’– उनले थपे, ‘पार्टी एकता हुँदा ओली र दाहालले दुवैले नेतृत्व गर्नुहुन्छ ।’ पार्टी एकता सजिलै हुने दाबी गर्दै उनले नेताको व्यवस्थापनभन्दा पनि देशको व्यवस्थापन गर्न चुनौती रहेको जिकिर गरे ।

नेता ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गर्नका लागि सरकारले तुरुन्तै सत्ता छाड्नुपर्ने औँल्याए । उनले नेपाली काँग्रेसले राष्ट्रियसभामा आफ्नो उपस्थिति नहुने देखेर असंवैधानिक तरिकाले एकल संक्रमणकालीन व्यवस्था ल्याउन खोजेको आरोप लगाए ।

विशेष