राजनीति

प्रचण्डको जहाज नउड्नाले रोकियो वाम एकता

प्रचण्डको जहाज नउड्नाले रोकियो वाम एकता

काठमाडौं । पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि शनिबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।

मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं फर्कन सकेनन् ।

अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाकाअनुसार जहाज अवतरण हुन नसकेपछि काठमाडौं फर्कने कार्यक्रम स्थगित हुँदा पार्टी एकता संयोजन समितिको बैठक शनिबारलाई स्थगित भएको हो ।

यद्यपि, दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेको दुवै पार्टीका नेताहरुले बताएका छन् । शनिबारै राजधानीमा आयोजित एक कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको विषयमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए ।

दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा शीर्ष नेता पुगेको बताइएको छ । पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो ।

उता, माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आसयको निर्णय गरेको थियो ।

विशेष