रोजगार सफलताको कथा

मजदुरी गरेरै महिनामा ५० हजार कमाई

मजदुरी गरेरै महिनामा ५० हजार कमाई

काठमाडौं । दोलखाका मोहन श्रेष्ठ सामान्य मजदुर हुन् । उनी डकर्मी काम गर्छन् । त्यही काम गरेर उनले महिनामा ५० हजारभन्दा वढी कमाई गर्दै आएका छन् । घर निर्माणमा इटाको सटामा प्रयोग हुने इको प्यानल जडान गर्ने डकर्मी मजदुर उनले महिनामा ५० हजारभन्दा वढीसम्म पनि आम्दानी गर्दै आएको जनाए ।

विगत दुई वर्षदेखि इको प्यानलको जडान गर्दै आएको बताउने मोहनले भने, ‘महिनामा ५० देखि ५५ हजारसम्मको कमाई गर्दै आएको छु ।’ आफूसहित दाइ र जेठान गरी तीनजनाले यो काम गर्दै आएको उनले सुनाए । विदेशबाट फर्केर आएका दाइ र जेठानलाई विदेशमा भन्दा स्वेदशमै राम्रो आम्दानी हुने जानकारी दिई आफूले विदेश जानबाट रोकको जानकारी उनले दिए । ‘यो कामबाट आकर्षक आम्दानी भएपछि उहाँंहरुले स्वदेशमै सन्तुष्ट छु भन्नुभएको छ’, उनले भने ।

राम्रो कमाई हुने भएपछि यो काममा पुरुष मात्रै होइन, महिला पनि लागेको देखिएका छन् । यो काम गर्दै आएकी सरस्वती मगरले आफूले यो कामबाट महिनामा अन्दाजी ४० हजार कमाई गर्दै आएको बताइन् । ‘यो कामबाट राम्रो आम्दानी हुने भएपछि बढाबुढी मिलेर दुवैजना यही काममा छौं, उनले भनिन्, बुढाबुढी दुवैले गरेर महिनामा अन्दाजी ८० हजार कमाई गर्दै आएका छौं ।’

यही कमाईबाट आफनो परिवार खुसीमय रुपमा चल्दै आएकोमा उनले खुशी व्यक्त गरिन् । राम्रो कमाई भएर खानलगाउन मात्रै नभई घुमघाम गर्न पनि पैसा जोगिएको उनले बताइन् । घुमघामको क्रममा अहिले आफूहरु पोखरामा रहेको उनले सुनाइन् । कहिले पोखरा त कहिले कता पुगेर कामसँंगै घुमघाम गर्न पाउँंदाको मज्जै भिन्न भएको अनुभव उनले सुनाइन् ।

राम्रो कमाईकै कारण विद्यार्थी पनि आकर्षित भएका छन् । विहान कलेज पढने र दिउँंसो काम गर्ने विद्यार्थी पनि यो कामप्रति आकर्षित देखिएका छन् । बासु माध्यामिक विद्यालय कालिघाट भक्तपुरमा कक्षा १२ मा अध्ययनरत विक्रम दुवालले यो कामबाट आफूले पढाई खर्च मात्रै नजुटाई आफ्ना लागि आवश्यक पकेट खर्च पनि जुटेको सुनाए ।

इको प्यानल जडान गर्ने काम गर्दै आएका अर्का युवा वीरबहादुर तामाङले आफूले पढ्न नपाए पनि प्यानलबाट विद्यालय भबन बनाउन पाएकोमा प्रशन्नता प्रकट गर्दछन् । भन्छन्, ‘गरिवीका कारण मैले पढ्न पाइन तर इको प्यालनको प्रयोगबाट भूकम्पबाट भत्केका स्कुलहरु पुननिर्माण गरी विद्यार्थीलाई पढन मिलाइदिन पाएकोमा अति नै खुशी छु ।’ भूकम्पप्रतिरोधी भएका कारण इको प्यानलको प्रयोगबाट भूकम्पले भत्केका स्कुलहरु बन्ने क्रम पनि तीव्र भएको उनी जनाउँंछन् ।

इको प्यानल उत्पादन गर्ने कम्पनीले खटाइ पठाएको घरमा गएर मजदुरले प्यानलको जडान गर्ने गर्दछन् । यसका लागि कम्पनीले इको प्यानल फिट गर्न जाने निर्माणस्थल मिलाइ दिन्छ । कम्पनीले भनेको ठाउँंमा गएर मजदुरले इको प्यानल जडान गर्न गर्दछन् । उनीहरुले ठेक्कामा यो काम गर्ने गर्दछन् । यसकारण यो कामका लागि १० बजदेखि ५ बजेसम्म जानुपर्ने वा वस्नुपर्ने झन्झटबाट मजदुरहरु मुक्त छन् ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालले उपत्यका बाहिर गएर काम गर्न जाने मजदुरलाई यातायात, खाने, वस्ने व्यवस्था पनि कम्पनीले व्यहोर्न जानकारी दिए । काम अनुसारको दाम हुनुपर्छ भन्ने मान्यताका साथ मजदुरहरुलाई प्रोत्साहन गरिराखेको उनले जनाए । त्यति मात्रै नभई उनीहरुको स्वास्थ्य विमा पनि कम्पनीले गर्दै आएको जानकारी उनले दिए ।

यो प्यानल जडान गर्ने प्रविधि दक्षिण एसियामै पहिलो भएको कारण आवश्यक जनशक्तिलाई कम्पनीले नै तालिम दिई दक्ष बनाउँंदै आएको कम्पनीले जनाएको छ । देशभर १२ वटा आउटलेट भएको यस कम्पनीसँंग २० वटा समूहलाई दक्ष बनाई सीप प्रदान गरिएको जानकारी कम्पनीले गराएको छ ।

इको प्यानल पहिला नै कारखानामा तयार गरिराखेको निर्माण सामाग्री हो । यो स्थायी तथा अस्थायी संरचनामा बाहिरी वाल र भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा इटाको सटामा प्रयोग हुने हलुका तथा पूर्ण वातावरणमैत्री निर्माण सामाग्री हो ।

 

 

विशेष