राजनीति मुख्य समाचार

यस्तो पो रहेछ वामदेव गौतम हार्नुको कारण

यस्तो पो रहेछ वामदेव गौतम हार्नुको कारण

गुलरिया — एमाले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण खुल्न थालेका छन् । वाम गठबन्धनका सूत्रधारसमेत रहेका उपाध्यक्ष गौतम कांगे्रस नेता सञ्जय गौतमसँग झिनो मतान्तरले पराजित भएका थिए ।

गौतम पराजय हुनुको कारण स्थानीय अन्तर्विरोध र उम्मेदवार आफ्नै कार्यशैली रहेको छानविन समितिको निष्कर्ष निकालेको छ । टोलीले दोस्रो पटक पुनः छानविन गर्ने भएको छ । वाम गढ मानिएको यस क्षेत्रमा एमाले उपाध्यक्ष गौतमको पराजयलाई पार्टीले गम्भीर रुपमा लिएको छ ।

गौतमको हारको विषयलाई लिएर एमाले केन्द्रीय सदस्य वैजनाथ चौधरीको संयोजकत्वमा प्रदेश कमिटी सचिव भूमीश्वर ढका र कार्यालय सचिव गोपाल भट्टराईको तीन सदस्य छानविन समिति गठन गरेको थियो । उक्त समितिले स्थानीय स्तरमा सोधपुछ गरी प्रतिवेदन तयार पारेको एमालेले जनाएको छ ।

 जिल्लाभन्दा बाहिरी नेतालाई ल्याएर परिचालनमा जिम्मेवारी दिनु, परिवारवाद लाद्न खोज्नु, आफू अन्तिमपटक उक्त क्षेत्रमा उठ्न आएको र अर्को पटक छोरा हरिश उठ्ने भनी प्रचार गरिनु, श्रीमती तुलसालाई समानुपातिक उम्मेदवार बनाउनुजस्ता कारण गाैतम हारेका हुन् ।

त्यस्तै, जिल्लाका अध्यक्ष हरिप्रसाद ज्ञवालीलाई गुलरिया, पुर्ण शर्मालाई बारबर्दिया, पूर्व सांसद श्याम ढकाललाई बढैयाताल लगायत सिमित क्षेत्रको जिम्मा दिएको, परिचालनमा गौतमले ध्यान नदिएको जस्ता कारणले गौतमले पराजित हुन पुगे । चुनावका बेला गौतमको क्षेत्रमा भारतीय नम्बर प्लेटका गाडी परिचालन अर्काे कारण बताइएको छ ।

कांग्रेसका जिल्ला सभापति एंव सिँचाई मन्त्री सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतको अन्तरालले उपाध्यक्ष गौतम पराजित भएका थिए। मतपरिणाम अनुसार कांग्रेसका गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गरे भने एमालेका गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका थिए ।

विशेष