राजनीति

विप्लव र वैद्यको पार्टी एकता हुँदै

विप्लव र वैद्यको पार्टी एकता हुँदै


काठमाडौं । माऊ पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने भएपछि माओवादीबाट फुटेका दुई माओवादीबीच पनि पार्टी एकताको पहल शुरु भएको छ ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकताको पहल शुरु गरिएको हो । दुबै पार्टीले केन्द्रीय कमिटि बैठक मार्फत एकता प्रकृया अघि बढाउने सहमति गरेका छन् । केन्द्रीय कमिटि बैठकपछि दुबै पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ती निकालेर क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण पनि अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्षसहित त्यसका लागि पहल गर्ने निर्णय गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण पनि अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष सहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो ।’

नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्यूरो सदस्य रामसिंह श्रीसले पार्टी एकताका लागि दुबै पार्टीबाट राजनीतिक प्रस्ताव गरिएको र अहिले अनौपचारिक छलफल चलिरहेको बताए । छलफल गर्दै जाँदा राजनीतिक र वैचारिक दृष्टिकोण समान बनाउन सकेमा एकता हुने उनको भनाई छ । तर विप्लव नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य मोहन कार्की जिवन्तले भने पार्टी एकता नभई राष्टियता र बैदेशिक हस्तक्षेपका विरुद्ध कार्यगत एकता मात्र हुन सक्ने बताउँछन् । ‘सिंगो रुपमा पार्टी एकता हुने स्थिती नै छैन,  तर केही सकारात्मक पक्षहरु भने छन्, बैद्य नेतृत्वको पार्टीबाट सिंगो टिम हामीतिर आउने अवस्था छैन । ठूलै टिम आएछ भने मात्र एकता हुन सक्छ । तर त्यो सम्भावना न्यून छ ।’

उनले एकताभन्दा धु्रबीकरणलाई बढी जोड दिएको बताए । त्यसका लागि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि छलफल चलिरहेको उनको भनाई छ । तर एकताको पहल गरिएको भनिए पनि माओवादी केन्द्र र एमलेबीच एकता भएपछि उक्त समूहमा रहेका केही असन्तुष्ट र निष्कृय हुन सक्ने नेता कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै आफू तिर तान्ने प्रयासमा यो प्रकृया अघि बढाइएको श्रोतको भनाई छ । कार्की पनि त्यो कुरा स्वीकार्छन । ‘एमाले माओवादीबीच एकता नरुचाउने क्रान्तिकारीहरुलाई निश्चत पनि आब्हान गछौं, उनले भने । तर नेता श्रीसले भने ती माओवादी एमालेका असन्तुष्ट नेताहरुको पनि फरक विचार भएको भन्दै अहिलेसम्म कुनै छलफल नभएको बताए ।

विशेष