राजनीति

वाम गठबन्धन संयोजन समितिको बैठक बस्दै

वाम गठबन्धन संयोजन समितिको बैठक बस्दै


काठमाडौँ। वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्दैछ । बैठकमा पार्टी एकताका खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको संयोजन समितिको बैठकको समय र ठाउँ भने तय भइसकेको छैन । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार मङ्गलबार समितिको बैठक बस्ने मोटामोटी तयारी भएको छ तर ठाउँ र समय तय भइसकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मङ्गलबार बिहान चितवनमा एक कार्यक्रम रहेको र त्यसपछि उहाँ काठमाडौँ फर्केपछि बैठक बस्ने तयारी भएकाले समय र स्थान तय हुन नसकेको जानकारी दिए । यद्यपि बैठक बस्ने तयारी दुवै दलबाट भएको सचिव ज्ञवालीले जानकारी दिए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार मङ्गलबारको बैठक तय भइसकेको छ । अध्यक्ष प्रचण्ड काठमाडौँ आएपछि समितिको बैठकमा भाग लिने बताए ।

दुई कम्युनिस्ट पार्टीको एकताबारे विभिन्न टिकाटिप्पणी भइरहँदा संयोजन समितिको बैठकको तयारी गरिएको छ । बैठकले सरकारको गठन र नेतृत्व, दुवै पार्टीका शीर्ष नेताको व्यवस्थापन र जिम्मेवारीबारे विस्तृत खाका तयार गर्ने बताइएको छ ।

आन्तरिक रूपमा दुवै दलका नेताहरूले त्यसबारे गृहकार्य गरिरहेको भए पनि प्रमुख दुई दलका दुवै अध्यक्षको सहमतिको खाँचो रहेको एक नेताले बताए । पार्टी एकताका लागि दुवै दलले गत असोज १७ गते लिखित सहमति गरेका थिए ।

विशेष