भूमिहीनलाई लालपुर्जा होइन ५ देखि १० तले घरहरु बनाएर राख्नु पर्छ (भिडियोसहित)
चितवन । बाम गठबन्धनले चितवन क्षेत्र नम्बर–१ लाई आफ्नो आधार इलाका मान्दै त्यहाँबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई त्यहाँबाट उम्मेदवार बनाएको छ । त्यहाँबाट लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रभावशाली नेता राजेन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् । सुरेन्द्र पाण्डे नेकपा एमालेका स्थायी समिति सदस्यसमेत हुन् । उनी माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा १८ महिना अर्थमन्त्री भएका थिए ।
उता, राजेन्द्र बुर्लाकोटी नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । संविधानसभाको दोस्रो चुनाव २०७० मा चितवन क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे र राजेन्द्र बुर्लाकोटी नै चुनावी मैदानमा थिए । त्यतिबेला सुरेन्द्र पाण्डेसँग राजेन्द्र बुर्लाकाटी ३ हजार ४९ मतले पराजित भएका थिए । यस पटक फेरि चितवन क्षेत्र नम्बर १ मा बामले सुरेन्द्रलाई र लोकतान्त्रिकले राजेन्द्रलाई नै चुनावी मैदानमा उतारेका छन् । यस पटक क्षेत्र नम्बर १ मा रत्ननगर नगरपालिका पनि गाभिएको छ ।
स्थानीय तहको चुनावलाई हेर्ने हो भने चितवन क्षेत्र नम्बर १ मा परेका तीन वटा नगरपालिकामा (रत्ननगर, खैरहनी, राप्ती) नेकपा एमालेले जितेको ठाउँ हो । त्यसैले पनि एमालेले यस क्षेत्रलाई आफ्नो आधार इलाका भन्दै आएको हो । बुर्लाकोटी भने यस पटक एमालेको आधार इलाका तोड्ने दाउमा छन् ।
राजेन्द्र बुर्लाकोटी २०३७ सालदेखि नेपाली कांग्रेसमा निरन्तर लागेका नेता हुन् । उनी सामाजिक अभियन्ता पनि हुन् । उनी सो क्षेत्रमा चर्चित व्यवसायीको रूपमा पनि चिनिन्छन् । पटकपटक जेलजीवन भोगेका राजेन्द्र बुर्लाकोटी पञ्चायतविरुद्धको आन्दोलनदेखि जनआन्दोलनसम्म सशक्त रूपमा कांग्रेसमा लागेका नेता हुन् । विभिन्न सामाजिक संस्थामा आबद्ध भएका बुर्लाकोटी २०५१ देखि नेपाली कांग्रेसको महासमिति सदस्यमा रहेका छन् ।
उता, सुरेन्द्र पाण्डे झापा आन्दोलनदेखि जनआन्दोलनसम्म निरञ्न्तर एमालेमा लागेका विकासप्रेमी नेता हुन् । लामो समयदेखि एमालेको स्थायी समिति सदस्यमा रहेका सुरेन्द्र पाण्डे अर्थमन्त्रीसमेत भएका थिए । २०३० सालदेखि नै उनी वामपन्थीका विभिन्न धारमा आबद्ध हुँदै आएका सुरेन्द्र पाण्डे क्रियाशील र जुझारु नेता गनिन्छन् ।
उनी अर्थमन्त्री हुँदा चितवन जिल्लामा धेरै विकासका योजनाहरुमा बजेट पारेका थिए । उनी अर्थमन्त्री हुँदा माओवादीको विरोधका कारण अध्यादेशबाट बजेट ल्याइएको थियो । अहिले माओवादी र एमाले एकै ठाउँमा छन् । त्यति बेला उनले आफ्नो क्षेत्रको प्रायः सबै भित्री सडकमा कालोपत्रे गर्न बजेट पारेका थिए ।
स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा चितवन क्षेत्र नम्बर १ मा बाम गठबन्धनको मत ४४ हजार ६७४ छ । लोकतान्त्रिक गठबन्धनको कुल ३२ हजार ११० मत छ । लोकतान्त्रिक गठबन्धनभन्दा वामगठबन्धनको मत धेरै देखिएको छ । क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाताले मताधिकार प्रयोग गर्ने छन् ।
उनीसँग चितवन पुगेर नेपाल आजले भिडियो कुराकानी गरेको थियो । भिडियो कुराकानीमा उनले भनेका छन्, ‘जनताको सहभागिता र उत्साह देखेर म ढुक्क छु, म चुनाव जित्छु । यसअघिको संविधानसभा निर्वाचनमा म हरेक वडामा पुगेको थिएँ यसपटक अलि भ्याएको छैन । तर सबैजना म आईदिए हुन्थ्यो भनेर पर्खेर बसिरहनु भएको छ । मैले यसअघि यहाँका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेका कारण पनि उहाँहरुमा मलाई भेट्ने आकांक्षा पलाएको हुनसक्छ । यो मान्छेले केही गर्छ भनेर पनि उहाँहरुका आकांक्षाहरु बढिरहेका छन् ।’
भिडियो अन्तर्वार्तमा उनले भनेका छन्, ‘म सर्वप्रथम मानिसको आम्दानी कसरी बढाउने भन्ने बारेमा सोचिहेको छु । दोश्रो कुरा बाटो मेरो प्रथामिकतामा परेको छ । अमेरिका विश्वको धनी मुलुक हुनुमा बाटोले धेरै ठूलो भूमिका खेलेको छ भनेर अध्ययनहरु भएका छन् । यसकारण सौराह र लोथर जोड्ने बाटोलाई पर्यटन सडकको रुपमा विकास गर्नका लागि काम अगाडि बढिसकेको छ । यसको लागत करिब १४ करोड रुपैयाँ छ । सौराहमा केन्द्रीत पर्यटनलाई माथिसम्म पुर्याउन सकेँ भने रोजगारीको सृजना गर्न सक्ने स्थिति हुन्छ । यस्तै मेरा १० वटा ‘ड्रिम प्रोजेक्ट’ छन् । आगामी पाँच वर्षमा पूर्वाचितवनको कायापलट हुन्छ ।’
त्यसो त उनी उठेको निर्वाच क्षेत्रमा क्षेत्रमा सुकुम्बासीको संख्या पनि धेरै छ । त्यहाँ सिमान्तकृत समुदायको बोलबाला रहेको छ । उनीहरुलाई कसरी राज्यको मुलप्रवाहमा ल्याउनु हुन्छ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘सुकुम्बासी शव्द भनेर भन्न म मन पराउँदिन, म पहिलेदेखि नै एकपटकलाई सुकुम्बासीहरुलाई जग्गाधनीको प्रमाणपत्र दिन चाहन्थे । २०६४ पछिको नेपालको राजनीतिक अप्ठ्यारा खासगरी मधेसवादी दलहरुले ती सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेमा पहाडेलाई जग्गा बाँड्यो भन्ने हिसावले विरोध गरे ।
र, त्यसको जिम्मा प्रदेश सरकारको हो भनेर माग राखेपछि अब हाम्रो प्रदेश सरकार बन्यो भने कानुन बनाएर एकपटकको लागि यो समस्याको हल निस्किन्छ । तर पुर्जा दिदैमा समस्या समाधान हुँदैन बरु सरकारले ५ देखि १० तले घर बनाएर हरेक परिवारलाई फ्ल्याट दिने हो भने सबै सेवा सुविधासहित व्यवस्थित गर्न सकिन्छ ।’
चितवनमा खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने गरेको देखियो । जग्गालाई कसरी व्यवस्थापन गर्नेबारे सोच्नु भएको छ भन्ने जिज्ञासामा उनले भने, ‘खेतीयोग्य जमिनमा खेती नै गर्ने र व्यापारिक प्रयोजनमा ल्याउन सकिने जमिनलाई आर्थिक प्रयोगमा ल्याउने राष्ट्रिय नीति नै ल्याउन जरुरी छ ।
अब जगालाई ११ वटा नाममा वर्गीकरण गर्ने तयारी भएको छ । जमीनलाई कसरी हुन्छ धेरै भन्दा धेरै बचाउने काम गर्नु पर्छ । यसका लागि सरकारले अग्ला घरहरु निर्माण गरेर फ्ल्याट स्टिममा जनतालाई राख्नु पर्छ ।