राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन मिति चाँडै

राष्ट्रियसभा सदस्य निर्वाचन मिति चाँडै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । साथै प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग परामर्श गरेर प्रदेश प्रमुखहरूको नियुक्ति पनि छिट्टै हुने जानकारी दिए ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालसँगको भेटमा शुक्रबार प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोग र आयोगका पदाधिकारीहरूलाई धन्यवाद तथा बधाई ज्ञापन गरे । यसैगरी प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनलाई सफल बनाउन नेपाल सरकारले पु¥याएको सहयोगको सराहना गर्नुहुँदै प्रधानमन्त्रीलाई हार्दिक बधाई दिए ।

प्रमुख आयुक्त डा यादवले पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशलाई प्रमाणीकरण गर्नुभएकाले नेपाल सरकारबाट राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको बताए।

उनका अनुसार प्रधानमन्त्रीले आयोगसँगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए । प्रमुख आयुक्त डा यादवले प्रदेश प्रमुख नियुक्तिको सन्दर्भ राख्नुहुँदै प्रदेशसभा सदस्यले शपथग्रहण नगरी राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने बेहोरा पनि अवगत गराए। निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित सदस्यहरूको नाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

विशेष