राजनीति भिडियो

किन पटक पटक घात ब्यहोरिरहेका छन् अखिलका पूर्वअध्यक्ष ठाकुर गैरे ? (भिडियोसहित)

किन पटक पटक घात ब्यहोरिरहेका छन् अखिलका पूर्वअध्यक्ष ठाकुर गैरे ? (भिडियोसहित)

काठमाडौं । ठाकुर गैरे अर्थात् विद्यार्थी आन्दोलनको चर्चित नाम । विद्यार्थी राजनीतिकै क्रममा उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षसमेत बने । आफ्नो जीवनको दुई दशकभन्दा बढी समय विद्यार्थी आन्दोलनमै बिताएका थिए उनले । गैरे अहिले एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन् ।

विद्यार्थी राजनीतिमा छुट्टै छबी बनाएका गैरेलाई यस पटक प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमालेले उम्मेद्वार बनाएन । जसको युवा पुस्ताबाट चर्काे विरोधसमेत भयो । तर एमाले नेतृत्व आफ्नो अडानबाट टसका मस भएन । फलस्वरुप निर्वाचन लड्ने उनको सपना अधुरो नै रह्यो ।

पार्टी नेतृत्वले आफूलाई उम्मेदवार नबनाएकोमा गैरेको चित्त कम्ती दुखेको छैन । उनले आफूमाथि पार्टीले पटक पटक पटक अन्याय गरेको महसुस गरेका छन् । उनकै शव्दमा भन्ने पार्टीले उनीमाथि पटक पटक घात गरेको छ ।

त्यसो त अघिल्ला दुई संविधानसभा निर्वाचनमा पनि स्थानीय कमिटीबाट उनी सिफारिसमा परेका थिए । तर पनि उनी पार्टी नेताका आँखामा परेनन् । पहिलो संविधानसभाको निर्वाचन हुँदा उनी अनेरास्ववियुको अध्यक्ष थिए । विद्यार्थीका विषयलाई संविधानसभामा उठाउन भन्दै अध्यक्षलाई सभासद बनाउने निर्णय केन्द्रीय कमिटीले गर्‍यो । तर, पार्टीका शीर्ष नेताहरुले त्यसको सुनुवाई गरेनन् ।

दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी पाल्पाबाट प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा सिफारिस भए । सूची केन्द्रमा आएपछि पार्टीले उनलाई समानुपातिकको सूचीमा राख्यो । तर, सभासद बनाउने बेला भने उनको नाम परेन ।

दुई दुई पटक पन्छाइएका गैरेलाई यस पटक भने ठूलो आशा थियो । तर त्यो आशा पनि निराशामा परिणत भयो । यसपटक उम्मेदवार बन्न हरेक मापदण्डबाट उनी योग्य थिए । तर पार्टीमा रहेको व्यक्तिवादी मापदण्डमा भने उनी पछि परे । यसैको नतिजा हो, उनी उम्मेदवार बन्न सफल भएनन् । तर पनि उनी पार्टी उम्मेदवारलाई विजयी बनाउन दिनरात खटिरहेका छन् ।

गैरे भन्छन्, ‘म पार्टीको केन्द्रीय सदस्य भएकाले जनताबाट अनुमोदित भएर देश र जनताको पक्षमा काम गर्न तयार थिएँ । नेपालको गणतन्त्र प्राप्तीको आन्दोलनमा ज्यानको बाजी थापेर लडेको थिएँ । तर मलाई टिकट दिइएन । जसबाट म आफै अचम्ममा परेको छु । पार्टीले न्यायोचित निर्णय गर्छ भन्ने विश्वासमाथि कुठाराघात भएको छ ।’

गैरे वर्तमान एमाले नेतृत्व युवाहरुलाई निरुत्साहित गर्न लागिपरेको बताउँछन् । ‘बहुसंख्यक युवाहरुले नेतृत्वमा पुग्नै पर्छ । हाम्रो संविधानले १८ देखी ४० वर्ष उमेर समुहलाई युवा भनेर मानेको छ । म ४० वर्ष कटिसकेको हुनाले त्यो पुस्तालाई आकर्षित गर्न हाम्रो उमेर समुहलाई नजर अन्दाज गर्न मिल्दैन । हामीले नै पार्टीमा हैसियत जोगाउन सकेनौं भने युवाहरु राजनीतिमा आउन मुस्किल पर्छ । त्यसमा राजनीतिक दलहरुले ध्यान दिनु पर्छ । तर मैले पनि यसपटक यस्तो अनुभव गरेको छु की राजनीतिक दलहरुले युवाहरुलाई निरुत्साहित गरिरहेका छन्,’ गैरे भन्छन् ।

उनी लामो समयदेखि पद ओगटेर बस्ने नेताहरुको क्रियाकलापदेखि पनि असन्तुष्ट छन् । ‘पहिलो पुस्ताका नेताहरुमा आर्यघाट नपुगुन्जेल पद नछोड्ने प्रवृत्ति देखिएको छ, यो लालचा पुराना नेताहरुले छोड्नु पर्छ र हाम्रो पुस्ताले नेतृत्व गर्न पाउनु पर्छ,’ उनले भने, ‘पहिलो पुस्ताका नेताहरुले अब सम्मानजनक स्थानमा बसेर युवाहरुलाई अगाडि बढाउँदै नेतृत्व सुम्पनु पर्छ ।’

 

विशेष