राजनीति भिडियो

चितवनमा बाम गठबन्धनले ‘क्लिन स्विप’ गर्नेमा कुनै शंका नगरे हुन्छ : कृष्ण खनाल (भिडियोसहित)

चितवनमा बाम गठबन्धनले ‘क्लिन स्विप’ गर्नेमा कुनै शंका नगरे हुन्छ : कृष्ण खनाल (भिडियोसहित)

कृष्ण खनाल चितवनवासीका लागि कुनै नौलो नाम होइन । २०३९ सालदेखि चितवनवासीसँग उनको सामिप्यता जोडिएको छ । पूर्व बैंकर्स खनाल नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । उनी अहिले चितवन–१ को प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका छन् । आफू प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नका लागि योग्य भएपनि पार्टीले प्रदेशसभामा उठाएकोमा उनी रत्तिभर चिन्तित छैनन् । भन्छन्, ‘म पार्टीको बफादार सिपाहीँ हुँ, पार्टीले जुन जिम्मेवारी दिएको छ म त्यसमा पूर्णतः सन्तुष्ट छु ।’

खनाल चितवनका प्रतिनिधिसभा र प्रदेशसभा गरी ९ ओटै क्षेत्रमा बाम गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्छन् । ‘मैले जित्नेमा कुनै शंका छैन, चितवनमा सबै क्षेत्रमा बाम गठबन्धनको जित सुनिश्चित छ । चितवनमा बाम गठबन्धनले क्लिन स्विप गर्छ,’ उनी भन्छन् ।

चितवन–१ का वासिन्दाले लामो समयदेखि विविध समस्या भोग्दै आएको उनको भनाइ छ । विशेषगरी यो क्षेत्रका वासिन्दा बाढीका कारण असुरक्षित छन् । यो क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको भूभाग पनि पर्छ ।

खनाल आफूहरुले जितेपछि व्यवस्थित तटबन्ध बनाएर बाढीबाट सुरक्षित बनाउने विश्वास दिलाउँछन् । ‘चितवन–१ का जनताको मुख्य समस्या बाढी पनि हो, व्यवस्थित तटबन्ध बनाएर सुरक्षा दिने प्रतिबद्धता म दिलाउँछु,’ उनले भने ।

त्यस्तै, राष्ट्रिय निकुञ्ज आसपासका जनता जंगली जनावरका कारण मृत्युको मुखमा पुग्ने गरेको र लगाएको बाली पनि भित्र्याउन सक्ने अवस्थामा नरहेकाले ३५ किलोमिटर क्षेत्रमा कंक्रिटवालसहितको तारजाली लगाउने आफ्नो एजेन्डा रहेको पनि उनले सुनाए । त्यस्तै, टिकौली चौरमा रंगशाला बनाउने, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहकार्यमा विकासको आँधी नै ल्याउने उनको योजना छ । ‘राज्यका तर्फबाट सक्ने काम राज्यकै तर्फबाट गर्नेछु, नसक्ने कामका लागि अन्तर्राष्ट्रिय संस्थाहरु गुहार्ने छु,’ उनले भने ।

उनले सौराहामा अन्तर्राष्ट्रियस्तरको सभाहल बनाउने प्रतिबद्धता पनि जाहेर गरे ।

विशेष