राजनीति भिडियो

संविधान निर्माणमा मैले खेलेको भूमिका नै मेरो जितको आधार हो : कृष्णभक्त पोखरेल (भिडियोसहित)

संविधान निर्माणमा मैले खेलेको भूमिका नै मेरो जितको आधार हो : कृष्णभक्त पोखरेल (भिडियोसहित)

कृष्णभक्त पोखरेल चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनका उम्मेदवार हुन् । उनी यसअघि पनि संविधानसभा सदस्यमा विजयी भइसकेका व्यक्ति हुन् । नेकपा एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका पोखरेल कानुनमा राम्रो दखल राख्छन् ।

त्यसो त संविधानको दस्तावेज निर्माणमा पनि उनले उल्लेख्य भूमिका खेलेका थिए । उनले संविधानको दस्तावेज निर्माणका लागि बनेको १२ जनाको सानो समूहमा बसेर आफ्नो दक्षता प्रमाणित गरिसकेका छन् । त्यसैले त पोखरेल गर्वका साथ भन्छन्, ‘संविधान निर्माणमा मैले खेलेको भूमिका नै मेरो जितको आधार हो, विकास निर्माणका कुरा त छँदै छन् ।’

राष्ट्र र देशका लागि केही गरौं भन्ने मान्यता बोकेका पोखरेल आफूले बोलेको कुरा पूरा गर्नैपर्छ भन्ने धारणा राख्छन् । राजनीतिमा इमान हराइरहेको बेला उनी राजनीतिमा झन बोलेका कुरा पूरा हुनैपर्ने बताउँछन् । यसअघिको संविधानसभा निर्वाचनमा आफूले बोलेको सबै कुरा पूरा गरेरै छाडेको पनि उनले दाबी गरे । त्यसैले उनी गर्वका साथ भन्छन्, ‘पहिलाको प्रतिकुल अवस्थामा त मैले चुनाव जितेँ भने अहिले त बाम गठबन्धन पनि छ । अर्काे कुरा मैले गत संविधानसभा निर्वाचनमा बोलेका सबै प्रतिबद्धता पूरा गरेको छु भने हार्ने कुरा आउँछ र ?’ अझै उनी थप्छन्, ‘चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न सकिन भने राजनीतिबाटै सन्न्यास लिन्छु ।’

पोखरेल अहिले चितवनमा बाम गठबन्धनको लहर नै आएको दाबी गर्छन् । बाम गठबन्धनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट लडेकाले पनि चितवन राष्ट्रिय राजनीतिको केन्द्र बन्दै गएको उनको टिप्पणी पनि छ । बाम गठबन्धनको पक्षमा लहर आएको देखेरै होला, उनी आफूले जितिसकेको र औपचारिकरुपमा जितको घोषणा हुन मात्र बाँकी रहेको बताउँछन् ।

पोखरेल दाबी गर्छन्, ‘चितवन मात्र एउटा यस्तो जिल्ला हो, जहाँ हरेक निर्वाचनमा एक बाम एक ठामको कुरा आउँछ । पहिला पनि यहाँका बामपन्थीहरु मिलेरै निर्वाचनमा लडेका थिए, अहिले त मुलुकभर एक बाम एक ठाम भएर लडेका छन् । यसलाई चितवनका बामपन्थीहरुले गर्वका साथ लिएका छन् ।’

 

 

विशेष