शिव सेनाले पूर्वराजालाई भन्यो, ‘सरकार ! नेताहरुको क्रुर शासनबाट मुक्त गरिबक्सियोस्’
काठमाडौं । हिन्दु अधिराज्य र राजसंस्था पुनर्स्थापनाको माग राख्दै आएको शिव सेना नेपालले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिन्ती पत्र बुझाउँदै वर्तमानको क्रुर शासनबाट मुक्त गर्न आग्रह गरेको छ ।
शिव सेनाको नेतृत्वमा विभिन्न धार्मिक, राजनीतिक संघ संगठनका हजारौंले बाजागाजासहित निर्मल निवास पुगेर बिन्तीपत्र बुझाएको थियो । निर्मल निवासअगाडि पुगेर बिन्ती पत्र पढेर सुनाउँदै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने, ‘अब ढिला भइसकेको छ, बिलम्व नगरी क्रूर शासक, सरकार र सत्ताको कालकोठरीबाट हामी नेपाली जनताहरुको उद्दार गरिबक्सियोस भनि यो बिन्तीपत्र चढाउँछौं सरकार ।’
अध्यक्ष बस्नेतले हुन लागेको निर्वाचन धोका भएको र नेपाल र नेपालीको पहिचान एक एक गरी विदेशीको ईशारामा नेपालका राजनीतिक दलका नेताहरुले मास्दै गएको दावी गरे । उनले नेपालीहरुको एकताको प्रतीक राजसंस्था हटाएर दलका नेताहरु अब मुलुक टुक्रा पार्ने, विदेशीको गुलामी गर्ने तहमा पुगिसकेको उल्लेख गरे । उनले देशवासीमा आग्रह गर्दै भने, ‘हे नेपाली दाजुभाई दिदीबहिनीहरु, यो देश डुब्नै लागिसक्यो । आउनुहोस्, हातेमालो गरौं । र देश डुब्नबाट जोगाऔं ।’
शिव सेना नेपालको नेतृत्वमा निर्वाचन बहिष्कार, हिन्दु अधिराज्य पुनस्र्थापना, राजसंस्था पुुनस्र्थापनालगायतका माग राखेर मंसिर ६ गतेसम्म पहिलो चरणको आन्दोलन सम्पन्न भइसकेको छ ।
अहिले शिव सेना नेपाल दोस्रो चरणको आन्दोलनमा होमिएको छ । यो अभियानमा शिव सेनासँगै नेपाल विद्वत परिषद, हिन्दु अधिराज्य स्थापना आन्दोलन समिति, राष्ट्रिय सरोकार मञ्च, राष्ट्रवादी मोर्चा, श्रीराम हनुमान आराधना मण्डल, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियलगायतको संघ संस्था रहेका छन् ।