राजनीति

यसरी गर्नुहोस् मतदान (भिडियोसहित)

यसरी गर्नुहोस् मतदान (भिडियोसहित)

काठमाडौं । यही बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणमा ४५ जिल्लामा मतदान हुँदैछ । मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक प्रणालीमा मतदान गर्नुपर्नेछ ।

प्रत्यक्ष प्रणाली भनेको मतदाताले आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाउने हो । यस प्रणालीबाट मतदाताले एउटा मतपत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारलाई मतदान गर्नुपर्नेछ । अर्को मतपत्रबाट प्रदेशसभा सदस्यलाई मतदान गर्नुपर्नेछ । मतदाताले सबैभन्दा पहिला प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हलुका हरियो रङमा छापिएको मतपत्र प्राप्त गर्नेछ । उक्त मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्न रहेको कोठामा छाप लगाउनु पर्छ । छाप अर्को कोठामा नछुने गरी लगाउनु पर्छ । छाप लगाएपछि छापको मसी कतै नलतपतिने तरीकाले पट्याएर तोकिएको मतपेटिकामा मतपत्र खसाउनु पर्छ ।

यसपछि मतदाताले प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष प्रणालीतर्फ कालो रङको मसीले छापिएको मतपत्र प्राप्त गर्नेछ । यो मतपत्रमा मतदाताले प्रदेशसभाका लागि आफूले रोजेको उम्मेदवारको चिह्न रहेको कोठामा छाप लगाउनुपर्छ । छापको मसी नलतपतिने तरीकाले पट्याएर तोकिएको मतपेटिकामा खसाउनु पर्छ ।

यसपछि मतदाताले समानुपापितक प्रणालीतर्फको मतपत्र प्राप्त गर्नेछ । यो मतपत्रमा एकै पातामा दुई खण्ड हुनेछ । पहिलो खण्ड ‘मतपत्र १’ हुनेछ जहाँ प्रतिनिधिसभाका लागि आफूले रोजेको एउटा राजनीतिक दलको चुनाव चिह्नमा छाप लगाउनु पर्छ । यो खण्डमा एक छापमात्र लगाउनु पर्छ । यही पाताको तल्लो खण्डमा ‘मतपत्र २’ हुनेछ, जुन प्रदेशसभाका लागि हो । यसखण्डमा पनि मतदाताले आफूले रोजेको राजनीतिक दलको चुनाव चिह्न रहेको कोठामा एक छाप लगाउनु पर्छ ।

यसरी मतदाताले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई अलग अलग मतपत्रमा एक एक छाप लगाउनुपर्छ । समानुपातिकतर्फ भने एउटै पातामा दुई खण्ड रहेको मतपत्रमा एक एक छाप लगाउनु पर्छ । पढ्न सक्ने साक्षर मतदाताले ‘मतपत्र १’ र ‘मतपत्र २’ हेरेर छाप लगाउन सजिलो हुनेछ । निरक्षर मतदाता भने अलमलिने सम्भावना हुन्छ ।

पहिलो चरणको मतदानमा समानुपातिक प्रणालीमा धेरै मतदाता अलमलिएको, पत्रपत्र १ मै दुई छाप लगाएको भन्ने समाचारहरु आएका छन् । यसपटक पनि धेरै मतदाता पहिलो चरणमा झैँ अलमलिने सम्भावना उत्तिकै छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा यस्तो अवस्था देखा परेको हो ।

 

 

 

विशेष