राजनीति

निर्वाचनका लागि सुरक्षा सतर्कतामा वृद्धि

निर्वाचनका लागि सुरक्षा सतर्कतामा वृद्धि

सप्तरी । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको यही मंसिर २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । 

मतदान केन्द्र तथा मतदाता र नेता तथा कार्यकर्ताको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । जिल्लाका सम्बन्धित मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी सुरक्षा निकाय र मतदानको सामग्री पुगिसकेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए ।

मुख्य निर्वाचन कार्यालयका अनुसार चार प्रतिनिधिसभा र आठ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्लामा तीन लाख ४६ हजार २१४ मतदाता रहेको बताइएको छ । चारै प्रतिनिधिसभा क्षेत्रमा ५५ तथा आठ प्रदेशसभा क्षेत्रमा ९७ गरी १५२ उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लाका कूल २९५ मतदानस्थलमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशीलताको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 

जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासँग जोडिएका कारण पनि मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक सिंहले बताए । यसैबीच मौनअवधिमा पनि राजनीतिक दलले घरघरमा पुगेर मत माग्ने काम जारी राखेका छन् । 

nirbachan

विशेष